नेप्सकाे प्रणाली ह्याकगरि कराेडाै चाेर्ने चिनियाँ नागरिक सार्वजनिक, रकम बारे अझै एकिन भएन
Investopaper, भाद्र १३, २०७६
प्रहरी परिसर काठमाडौंले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) को प्रणालीलाई ह्याक गरि नक्कली भिसा कार्ड मार्फत एटीएमबाट पैसा निकाल्ने ५ जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजिनक गरेको छ ।
ह्याकरहरूले पैसा लुट्न ९ वटा बैंकलाई माध्यम बनाएको देखिएको छ। तीन वटा बैंकको एटिएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड प्रयोग भएको छ। प्रहरीले उनीहरुको साथबाट१३२ वटा नक्कली र १७ वटा सक्कली भिसा कार्डसमेत बरामद गरेको छ।
पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। यसैगरि कार्ड भने प्रभु, एनआइसी एसिया, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको प्रयोग भएको छ।
कति पैसा निकालियाे भन्ने अझै एकिन हुन सकेकाे छैन । नेपाल प्रहरीका अनुसार याे अपराधिक गिराेहले भारत तथा भूटानबाट समेत रकम झिकेकाे आशंका गरिएकाे छ । यस बिषयमा नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ तथा नेप्समा बैठक बसि छलफल गरिएकाे समाचार छ ।
पक्राउ परेका ५ जनाकाे साथबाट प्रहरीले १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको छ । नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ झिकिएको जनाएको छ भने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको जनाएको छ। लुटिएको रकमको पूर्ण विवरण भने आइसकेको छैन।
आज सार्वजनिक गरिएका पाँचै जना चिनियाँ नागरिक हुन भने तीन जना फरार रहेकाे अाशंका गरिएकाे छ । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्।
