राउटेलाई नागरिकता दिइने, बस्ती हेर्न शुल्क

Investopaper, असार ०४, २०७६ 

दुल्लु – कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।  कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो ।

सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने मन्त्रालयका सचिव डा मानबहादुर विकेले बताउनुभयो ।

राउटे समुदायको क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा विकेले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो ।” उहाँले राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाउने बताउनुभयो ।

अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएकाहुन् । “राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहीँको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताउनुभयो ।

प्रक्रिया पुर्याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने प्रमुख जिल्ला अधिकारी बाँस्कोटाको भनाइ छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् ।

राउटे बस्ती हेर्न शुल्क

बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो ।

गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका लागि रु २०, विदेशी नागरिकका लागि रु ५००, अडियो भिडियो डकुमेन्ट्री मोबाइलका लागि रु १००, अडियो, भिडियो र क्यामराका लागि रु एक हजार शुल्क तोकेको छ ।

शुल्क तोकिएको बोर्ड राउटे बसोबास क्षेत्र प्रवेशद्वारमै राखिएको छ । गाउँपालिकाका अध्यक्ष ओलीका अनुसार बस्ती प्रवेशका लागि शुल्क लिन थालेपछि राउटे बस्तीमा मनपरि रुपमा प्रवेश गर्नेको सङ्ख्या घटेको छ । बस्ती हेर्न जानेबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउने अध्यक्ष ओलीले बताउनुभयो ।

अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छी बजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ । गाउँपालिकाले बस्ती प्रवेश गर्नेका लागि शुल्क उठाउन दुई कर्मचारी खटाएको छ । एइआइएन लक्जेम्वर्गको सहयोग, गुराँस गाउँपालिकाको समन्वयमा सोसेक दैलेखमार्फत सञ्चालित राउटे परियोजनामार्फत एक अहेव र दुई जोडी शिक्षक राउटे बस्तीमा खटिएका छन् ।

  • रासस
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *