कलङ्की नमुना मालपोत कार्यालयः घरमै बसेर पनि सेवा पाइने

Investopaper, असार ०५, २०७६ 

काठमाडौँ । घरजग्गाको कारोबार गर्दा सेवाग्राहीले महिनौँसम्म मालपोतका कोठा/कोठा धाउनुपर्ने अवस्था अन्त्य भएको छ । नमुना मालपोत कार्यालय कलङ्कीबाट अब सेवाग्राहीले घरमै बसेर आफ्नो घरजग्गाको विस्तृत विवरण पाउन सक्नेछन् ।  कुनै पनि जग्गाधनीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर आफ्नो घरजग्गाको स्टेटमेन्ट जहाँसुकैबाट हेर्नसक्ने व्यवस्था मिलाइएको छ ।

घरैमा बसेर इन्टरनेटबाट लिखत तयार पारी अनलाइनबाटै विवरण पेस गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिँदै भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले भन्नुभयो, “सक्कल कागजात लिएर जग्गा लिने र दिने मात्र कार्यालय आएर सेवा दिनसक्ने प्रणाली ल्याइएको छ । सेवाग्राहीले कम समयमा सेवा लिन सक्ने छन् । ”

कामका लागि मालपोत पुगेका सेवाग्राहीले पनि मालपोत कार्यालयको प्रवेशद्वारमा रहेको सहायता कक्षबाटै सम्पूर्ण प्रक्रियाका बारेमा जानकारी र एकल सेवा बिन्दुबाट सेवासमेत पाउने भएका छन् । महानिर्देशक दुवाडीले सेवाग्राहीका लागि सहज व्यवस्था गरिएको जानकारी दिँदै थप्नुभयो, “सहायता कक्षबाट कागजात रुजु गरी टोकन दिइने छ । यसका आधारमा सेवाग्राही सम्बन्धित कोठामा जान सक्ने छन् ।

कार्यकक्ष पारदर्शी बनाइँदै ओपन अफिस सिस्टम लागू गर्ने प्रयत्न गरिएको छ । एकल सेवा बिन्दु अवलम्बन गरिएको छ । सेवाग्राहीले एउटै कोठाबाट सबै सेवा लिनसक्ने व्यवस्था मिलाइएको छ । कार्यालयमा रहेको प्रतीक्षालयमा सेवाग्राहीलाई आवश्यक सूचना दिन टेलिभिजनको समेत व्यवस्था गरिएको छ । ”

सरकारले अनलाइन सिस्टम लागू गर्दै पहिलो नमुना कार्यालयका रूपमा कलङ्कीबाट सेवा शुभारम्भ गरेपछि यो सेवा सुरु भएको हो । यो नमुना मालपोतको प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभयो ।

त्यस क्रममा उहाँले आधुनिक मालपोत कार्यालयमार्फत सबैलाई सहज सेवा दिन लागिएकोप्रति खुसी व्यक्त गर्नुभयो । प्रविधिको प्रयोगले काम पारदर्शी र सहज हुने र यसबाट राष्ट्रिय ध्येय र आकाङ्क्षासमेत पूरा हुने प्रधानमन्त्रीको भनाइ छ ।

काठमाडौँको साँखु, पाँचथर र इलाम जिल्लामा यसै वर्षदेखि नमुना मालपोत कार्यालय सञ्चालन गर्ने सरकारको योजना छ । देशभरका २२ वटा मालपोत कार्यालयमा सीसीटीभी जडान गरिसकिएको छ ।

कुल १३१ भूमिसुधार तथा मालपोत कार्यालयमध्ये ६६ वटा कार्यालयमा ल्यान्ड रेकर्ड इन्फरमेसन म्यानेजमेन्ट सिस्टम लागू गरिसकिएको छ । त्यसबाट जग्गाको कारोबार अनलाइन हुने, केन्द्रीय अभिलेख तयार हुने, राजस्व गणनामा एकरूपता आउने, विभिन्न प्रतिवेदन हेर्न सकिने, जग्गाको कारोबार गर्दा सम्बन्धित जग्गाधनीको मोबाइलमा म्यासेज जाने पनि उहाँले जानकारी दिनुभयो । कलङ्की मालपोत कार्यालयका सबै स्रेस्ताको स्क्यानिङ भइसकेको छ ।

त्यसैगरी सेवाग्राहीका लागि गुनासो सुन्ने व्यवस्थासमेत गरिएको छ । सुधारिएको फारामहरू बेवसाइटमा उपलब्ध गराइएको छ । कार्यालयलाई अपाङ्गमैत्री बनाइएको छ भने स्तनपान कक्षको समेत व्यवस्था गरिएको छ । याे समाचार आजकाे गाेरखापत्रमा सविता शर्माले लेख्नु भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *