राजधानीमा गुर्जोका बिरूवा वितरण, नदी किनारमा पनि लगाइने

इन्भेष्टाेपेपर । असाैज १३, २०७७

काठमाडौं । राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण अभियान तीव्र भएको छ ।

गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आउनु भएका आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गर्नुभयाे ।

बूढानीलकण्ठ नगरपालिकालाई २००, महालक्ष्मी नगरपालिकालाई २०० र सूर्यविनायक नगरपालिका–५ लाई ३०० गुर्जोका बिरुवा हस्तान्तरण गरिएको अभियानकर्मी राजलवटले जानकारी दिनुभयाे । 

 यसैगरी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८०० बिरुवा वितरण गरिएको पनि उहाँले बताउनुभयाे । यसैगरी ललितपुरको ठैब क्षेत्रका लागि पनि ३०० बिरुवा रोपणका लागि हस्तान्तरण गरिएको छ । 

बूढानीलकण्ठ नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको चियासमेत ३५ केजी नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत् हस्तान्तरण गरिएको छ । कोरोना पोजेटिभ भएकालाई फेरि दिने प्रतिबद्धता अभियानकर्मी राजलवटले जनाउनु भयाे।

हालक्ष्मी नगरपालिकामा समेत आइसोलेसन कक्षमा बसेकाका लागि गुर्जोको चिया हस्तान्तरण गरिएको छ । महालक्ष्मीमा नगर प्रमुखसमेत कोरोना सङ्क्रमण भई आइसोलेसन कक्षमा बसेकाले उहाँलाई पनि नगरपालिकामार्फत् नियमित सेवनका लागि छुट्टै गुर्जोको चिया हस्तान्तरण गरिएको छ । 

उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्नुपर्ने अभियानका रूपमा अघि बढाइएको छ । गुर्जो रोपण अभियानमा हाल उपत्यकामा क्रियाशील वाग्मती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि लागेका छन् । उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियानसमेत शुरु भइसकेको छ । नदी किनारका प्रत्येक घरमा समेत गुर्जो रोपण अभियान जारी छ ।

 गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायत रोगका लागि औषधीको रूपमा प्रयोगमा ल्याइन्छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउन हुँदैन । लहानस्थित सरकारी निवास क्षेत्रमा हुर्काइएका करिब ७५ हजार गुर्जोका बिरुवा हालसम्म देशका विभिन्न भागमा रोपणका लागि हस्तान्तरण गरिएको छ । 

 गुर्जो रोपण अभियानलाई देशव्यापी बनाउन राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी, जीवन विज्ञानका योग प्रशिक्षक रामप्रसाद पन्थी लगायत अभियानकर्मी पनि राजलवटसँगै जुटनु भएकाेछ । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रूपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *