सेन्ट्रल जोन भलिबलः कीर्गिस्तानव्दारा उपाधि रक्षा
Investopaper, भाद्र ०८, २०७६
एसियन भलिबल कन्फडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको पाँचौं संस्करणको उपाधि कीर्गिस्तानले जितेको छ।
लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा कीर्गिस्तानले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि कब्जा गरेको हो।
कीर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४, २७–२५ र २५–१९ ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको हो । यसअघि तेस्रो संस्करणको उपाधि पनि कीर्गिस्तानले जितेको थियो। पहिलो र दोस्रो सेटमा कीर्गिजस्तानलाई कडा टक्कर दिएको उज्वेकस्तान अन्तिममा गलेकाे थियो ।
आयोजक नेपालसहित ७ देश सहभागी भएको प्रतियोगितामा नेपाल पाँचौं स्थानमा रह्यो। यस प्रतियोगिताको छैठौं संस्करण अर्को वर्ष बंगलादेशमा हुनेछ।
