गुरुनानक जयन्तीको अवसरमा कार्यवाहक राष्ट्रपतिको शुभकामना
इन्भेष्टाेपेपर । कात्तिक १९, २०८२
काठमाडौँ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले गुरुनानक जयन्ती (प्रकाश पर्व) २०८२ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण सिख समुदायसहित नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्नुभएको हो ।
“प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीहरुले आफ्ना धर्मगुरु, गुरुनानक देवको जन्मजयन्तीलाई ‘गुरु पूरब’, ‘गुरु पर्व’ र ‘प्रकाश वर्ष’ को रूपमा अत्यन्तै श्रद्धा र भक्तिपूर्वक मनाउँने परम्परा रही आएको छ । गुरुनानकले सम्पूर्ण मानव जातिलाई ‘एक ओमकारा’, ‘एक सतनाम’ अर्थात् ईश्वर एउटै हुनुहुन्छ भन्ने सार्वभौम सत्यको सन्देश दिनुभयो ।
गुरुनानक देवले दिनुभएको शिख धर्मको आधारभूत त्रिसूत्रीय सिद्धान्त :‘इमानदारीपूर्वक परिश्रमले कमाऊ’, ‘लोभ–मोह त्यागेर ईश्वर÷सत्यको स्मरण गर’ र ‘कमाएको धन एवं स्रोतलाई अरुसंग बाँडेर उपभोग गर’ भन्ने जीवन सूत्र आज पनि उत्तिकै सान्दर्भिक र महत्वपूर्ण छन् । यी जीवन सूत्रहरुले सच्चा र नैतिकवान जीवन कसरी जिउने भन्ने मार्गदर्शन गर्दछ ।
गुरुद्वाराहरूमा गरिने पवित्र कीर्तन, दीप प्रज्वलन र सामूहिक रूपमा ‘लंगर’ मा प्रसाद ग्रहण गर्ने परम्पराले साम्प्रदायिक एकता, सहिष्णुता र सामाजिक समानतालाई प्रवद्र्धन गर्नमा सहयोग पुग्दछ । गुरुनानक जयन्तीले हामीलाई जात, धर्म र वर्गको भेद नगरी एकै पङ्क्तिमा बसेर सद्भावको सन्देश दिन्छ ।
यस अवसरमा गरिने गुरु ग्रन्थ साहिबको पाठबाट प्राप्त हुने ज्ञानको उज्यालोले देश र समाजमा विद्यमान सम्पूर्ण विकृति, विसंगति र विभेदको अन्त्य गर्न प्रेरणा मिलोस् । गुरुनानक देवले देखाउनुभएको सत्यको मार्ग र परोपकारको भावनालाई हामी सबैले मन, वचन र कर्मले आत्मसात गर्न सक्नुपर्दछ ।
अन्त्यमा, गुरुनानक जयन्तीले सम्पूर्ण नेपालीलाई शान्त, सौम्य र सभ्य समाज निर्माणमा जुट्न र राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रता र प्रतिबद्धताका साथ अगाडि बढ्न राष्ट्रिय प्रेमसहित सबैलाई उत्प्रेरित गरोस्” वक्तव्यमा भनिएकाे छ ।
