भदौ मसान्तभित्र दुध किसानको रकम भुक्तानी गर्ने सहमति

न्भेष्टाेपेपर । असार १९, २०८१

काठमाडौँ । डेरी उद्योगीले दुध किसानको बक्यौताको सम्पूर्ण रकम भदौ मसान्तसम्म भुक्तानी गरिसक्ने सहमति गरेको छ । बक्यौता रकमको भुक्तानी गर्न माग गर्दै किसानले आन्दोलन गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भएको छलफलमा सो सहमति भएको हो । 

सहमति अनुसार २०८० चैत मसान्तसम्म भुक्तानी हुन बाँकी रकम असार २७ गतेसम्म गरिसक्ने र वैशाख र जेठको बक्यौता रकमको भुक्तानी २०८१ भदौ मसान्तसम्म गर्ने सहमति भएको किसानको प्रतिनिधि गर्ने संस्था केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष अमर कुँवरले बताउनुभयो । सो सहमतिसँगै सङ्घले घोषणा गरेका आन्दोलनका सम्पूर्ण कार्यक्रम हाललाई स्थगित गरेको छ । 

मन्त्रालयमा भएको १० बुँदे सहमति अनुसार प्रत्येक दुग्ध उद्योगले किसानलाई दुध खरिद गरेबापत हरेक महिनामा दुई किस्तामा भुक्तानी गर्ने, महिनाको पहिलो १५ दिनको भुक्तानी सोही महिनाको २५ गतेभित्र र महिनाको पछिल्लो १५ दिनको अर्को महिनाको १० गतेभित्र गरिसक्नुपर्ने हुन्छ । 

दुध तथा दुग्ध पदार्थको उत्पादनमा उल्लेखनीय वृद्धि भएकाले आन्तरिक मागको तुलनामा आपूर्ति बढी भएकाले दुध तथा दुग्ध पदार्थको निर्यात गर्ने विकल्पलाई सहजीकरण गर्न निजी, सहकारी तथा सरकारी डेरी उद्योगलाई निर्यात प्रवर्धनका लागि सहुलियत प्रदान गर्न मन्त्रालयले पहल गर्ने सम्झौतापत्रमा उल्लेख छ । 

त्यसै गरी किसान र दुग्ध उद्योगले बैङ्कको ऋणमा लाग्ने ब्याजमा सहुलियत दिनका लागि मन्त्रालयले सहजीकरण गर्ने र दुग्ध उद्योगलाई कर्जा सहुलियतका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ । 

कृषि मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र, राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादव, दुग्ध विकास संस्थानका उपमहाप्रबन्धक राजेन्द्र अधिकारी, केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमर कुँवर, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालसमेत १४ जना सरोकारवालाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *