घरभाडा घटाउन व्यावसायिक सङ्घसंस्थाको अपिल

न्भेष्टाेपेपर ।  चैत्र ३०, २०७९

लुम्बिनी । कोभिड–१९ पछिको घट्दो व्यापार, बैंकको चर्को ब्याजदर, महँगो घरभाडालगायत कारण व्यापार व्यवसायमा देखिएको मन्दीले व्यवसायी विस्थापित हुने अवस्था आएको रुपन्देहीका उद्योगी व्यावसायिक सङ्घसंस्थाले ठहर गरेका छन् ।

व्यावसायीक सङ्घसंस्थाको बुधबार बुटवलमा बसेको संयुक्त बैठकले बढ्दो घरभाडा र चर्को बैंक ब्याजका विषयमा व्यावसायिक सङ्घसंस्थाको सञ्जालले बृहत् बैठक आह्वान गरी बैंक ब्याजदर र घरभाडा घटाउन दबाबस्वरुप खाका तयार गर्ने निर्णय गरेको छ ।

रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घ, उद्योग व्यापार सङ्घ र नेपाल घरबहाल सरोकार सङ्घको संयुक्त बैठकले घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु अपरिहार्य भएको उल्लेख गर्दै घरबहाल घटाउन घरधनीलाई सामूहिक आग्रह गरेको छ ।

बढ्दो आर्थिक मन्दीबाट व्यापार व्यवसाय, उद्योग तथा कलकारखाना धारासायी हुँदै गइरहेको र त्यसबाट निम्तिएको सङ्कटका विषयमा छलफल भएको रुपन्देही व्यापार सङ्घका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताउनुभयो । बैठकपछि जारी संयुक्त अपिलमा मुलुकको अर्थतन्त्रलाई चलायमान गराउँदै व्यापार व्यवसाय तथा उद्योग कलकारखाना सञ्चालन गर्ने अवस्था सिर्जना गर्ने विषयमा सबै पक्ष गम्भीर बन्न अनुरोध गरिएको छ ।

अपिलमा बढ्दो आर्थिक मन्दीबाट उपभोक्ता तथा घरधनीलाई प्रत्यक्ष असर परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीका कारण व्यापार नभएपछि बुटवल बजारमा घरभाडा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायी पसल बन्द गर्नेको सङ्ख्या बढ्दै गएको तथा बजार विस्थापित हुने क्रम बढेको प्रति चिन्ता व्यक्त गरिएको छ । यो स्थितिलाई मध्यनजर गर्दै पछिल्लो घट्दो र खस्कँदै गइरहेको व्यापारलाई बचाएर आफू पनि चल्ने र सबैलाई चल्ने अवस्था बनाउनु आवश्यक भएको अपिलमा उल्लेख छ ।

अपिलमा रुपन्देही व्यापार सङ्घका अध्यक्ष घिमिरेसहित रुपन्देही उद्योग सङ्घका अध्यक्ष माधवप्रसाद पौडेल, बुटवल उद्योग वाणिज्य सङ्घका कार्यवाहक महासचिव मुक्ति अधिकारी, उद्योग व्यापार सङ्घका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी र नेपाल घरबहाल सरोकार सङ्घका अध्यक्ष राजु लिगलले हस्ताक्षर गर्नुभएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *