एडीबीको लगानी बढ्यो, परियोजना कार्यान्वयनकाे सुस्तताले खर्च निकै कम
Investopaper, फाल्गुन २५, २०७५
नेपालमा ३६ परियोजनामा एडीबीको कुल लगानी उपलब्धता २.८ अर्ब अमेरिकी डलर रहेकोमा लगानीको ६१ प्रतिशत रकम सरकारले परिचालन गर्न सकेको छैन ।
काठमाडौं : बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडीबी)को वार्षिक लगानीको आकार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । एडीबीले सन् २०१८ मा नेपालमा लगानीको पोर्टफोलियो ५९ करोड २२ लाख अमेरिकी डलर पुगेको जनाएको छ । यद्यपि परियोजना कार्यान्वयन भने सुस्त देखिएको छ ।
एडीबीको सहयोगमा सञ्चालित परियोजनाहरूको वार्षिक समीक्षा बैठकका क्रममा दक्षिण एसिया महानिर्देशक दिवेश शरणले नेपालले परियोजना कार्यान्वयन क्षमतामा सुधार गरी प्राप्त सहायताको उपयोग गर्नुपर्ने बताए । परियोजनाहरूको ठेक्का सम्झौता र भुक्तानीमा सरकार सुस्त देखिएको छ ।
एडीबीका अनुसार गत वर्ष ४४ करोड ७० लाख अमेरिकी डलरबराबरको ठेक्का सम्झौता हुने अनुमान गरिएकोमा ३८ करोड ६० लाख डलरबराबरको ठेक्का सम्झौता भएको थियो । तर ठेक्काको भुक्तानीतर्फ भने ठूलो अन्तर देखिएको छ । गत वर्ष ३३ करोड ८० लाख डलरबराबर भुक्तानी हुने अनुमान गरिएकोमा २६ करोड ८० लाखमात्र भुक्तानी भएको छ ।
एडीबीका अनुसार सहरी पूर्वाधार तथा खानेपानी, यातायात र ऊर्जाजस्ता पूर्वाधार आयोजनाहरूको प्रगति सुस्त छ । मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार परियोजना, काठमाडौं उपत्यका फाहोरपानी व्यवस्थापन आयोजनाको प्रगति सुस्त देखिएको छ । त्रिभुवन विमानस्थलको रन–वे विस्तार, नारायणघाट–पोखरा सडक स्तरोन्नतिमा कम दरको बोलपत्र प्रस्तावजस्ता विविध कारणले यातायात क्षेत्रको पोर्टफोलियोमा पनि सुधार हुन नसकेको एडीबीले जनाएको छ ।
वार्षिक पोर्टफोलियो समीक्षा बैठकमा एडीबीका दक्षिण एसिया महानिर्देशक शरणले सन् २०१४ देखि २०१६ सम्मको औसत वार्षिक पोर्टफोलियो २५ करोड अमेरिकी डलरको हाराहारीमा रहेकोमा सन् २०१७ देखि एडीबीले नेपालमा वार्षिक लगानी बढाएको छ । सन् २०१८ मा अहिलेसम्मकै बढी लगानीको उपलब्धता थियो । तर, नेपालले सहवित्तीयकरणतर्फ लगानीबाहेक एडीबीको २४ करोड ६७ लाख अमेरिकी डलर परिचालन गर्न सफल भएको उनले बताए ।
नेपालमा ३६ परियोजनामा एडीबीको कुल लगानी उपलब्धता २.८ अर्ब अमेरिकी डलर रहेकोमा लगानीको ६१ प्रतिशत रकम सरकारले परिचालन गर्न सकेको छैन । एडीबीको सहयोग सहरी पूर्वाधार, खानेपानी, सडक पूर्वाधार, ऊर्जा, कृषि, ग्रामीण सडकलगायत क्षेत्रमा केन्द्रित छ । सन् २०१७ मा अहिलेसम्मकै उच्च ठेक्का सम्झौता र रकम भुक्तानी भएको थियो ।
वार्षिक पोर्टफोलियो समीक्षाका क्रममा राम्रो कार्य सम्पादन गर्ने विभिन्न परियोजनालाई सम्मान गरिएको थियो । अर्थ मन्त्रालय र एडीबीले मूल्यांकन गरी सन २०१८ मा राम्रो कार्य सम्पादन गर्ने परियोजना छनोट गरेका हुन् । राम्रो परियोजना व्यवस्थापक समूहअन्तर्गत ग्रामीण सम्पर्क सञ्जाल सुधार परियोजना, सीप विकास परियोजना र क्षेत्रीय सहरी विकास परियोजना सम्मानित भएका छन् ।
सन् २०१९ मा एडीबीले ३८ करोड अमेरिकी डलरबराबरका आयोजनाको ठेक्का सम्झौता हुने र ४२ करोड ८० लाख भुक्तानी हुने अनुमान गरेको छ । याे समाचार अाजकाे अन्नपूर्ण पाेष्टमा छ ।
