महिला म्याराथुन दौड प्रतियोगितामा यशोदा चौधरी प्रथम
Investopaper, फाल्गुन २४, २०७५
सुनसरी — १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरीमा बिहीबार आयोजित महिला म्याराथुन दौड प्रतियोगितामा इटहरी १० की यशोदा चौधरी प्रथम भइन् । इटहरी १ की रमिला बास्तोला द्वितीय र इटहरी ६ की प्रेरणा ठाकुर तृतीय भइन् ।
सय जना महिला सहभागी भएको प्रतियोगिता इटहरी उपमहानगरले आयोजना गरेको हो । महिलाहरूलाई सशक्तीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा म्याराथुन दौड आयोजना गरिएको इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतमले बताइन् ।
यसैबीच इटहरीमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला उद्यमीले उत्पादन गरेको सामग्री प्रदर्शनी भइरहेको छ । इटहरी उपमहानगर परिसरमा जारी प्रदर्शनी शुक्रबारसम्म रहनेछ ।
