गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग
इन्भेष्टोपेपर । पुष २५, २०७८
काठमाण्डाैँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा बुढानिलकण्ठ नगरपालिका – ३, मुहानपोखरीमा अवस्थीत नव युवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट), झोला तथा स्टेसनरी सामाग्री प्रदान गरिएकाे छ ।
कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले एक कार्यक्रमका बीच समाजका अध्यक्ष शिव शंकर नेपाली मार्फत बालबालिकालाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएकाे हाे ।
बुढानिलकण्ठ नगरापालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठज्यूका प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा कम्पनीका क्षेत्रीय कार्यालय ललितपुरका क्षेत्रीय प्रमुख रुपक के.सी.ले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै कम्पनीका प्रबन्धक बोधलाल पुरीले संचालन गर्नु भएको सो कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुशन नेपाल तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
१९ वर्ष देखि संचालनमा रहेको नव यूवा बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई खुशी लागेको एवं कम्पनीको यस किसिमका कार्यक्रमलाई निरन्तरता दिने जानकारी कम्पनीको प्रमुख कार्यकारी अधिकृतले गराउनुका साथै वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले यस कार्यक्रमको लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
आजको यस सहयोग हस्तान्तरण कार्यक्रमको लागि समाजको तर्फबाट धन्यवाद गर्दै समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यस सहयोग सधैँ सम्झिरहने जानकारी गराउनु भयो ।
