काेभिड-१९ : नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’
इन्भेष्टोपेपर । मंसिर ११, २०७८
विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकामा पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राखेको छ ।
प्राविधिक शब्दावलीमा विश्व स्वास्थ्य संगठनले यसलाई ‘चिन्ताजनक भेरिएन्ट’ (भेरिएन्ट अफ कन्सर्न) भन्दै यसको नाम ‘ओमिक्रोन’ राखेको जनाएकाे छ । संगठनले ओमिक्रोन ‘चिन्ताजनक भेरियन्ट’ भएको पनि बताएको छ ।
शुक्रवार विश्व स्वास्थ्य सङ्गठनले सुरुमा B.1.1.529 नाम दिइएको भेरिअन्टका कारण दक्षिण अफ्रिकाका सबै जसो राज्यहरूमा सङ्क्रमण बढी रहेको पाइएको जनाएको थियो। ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुन: संक्रमण हुने जोमिख बढी रहेको छ । प्रारम्भिक प्रमाण अनुसार यो भेरिअन्टबाट सङ्क्रमणको जोखिम उच्च रहेको डब्लुएचओले जनाएको छ।
यो भेरिअन्ट पहिलो पटक नोभेम्बर २४ तारिखमा दक्षिण अफ्रिकामा पाइएको डब्लुएचओलाई जानकारी गराइएको थियो। हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।
दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डि ओलिभियराले यसअघि फैलिएका अन्य भेरिअन्टहरूभन्दा यो “धेरै भिन्न” र “उत्परिवर्तनको अस्वाभाविक समूह” देखिएको बताए।
सञ्चारमाध्यमसँग बोल्दै प्राध्यापक ओलिभियराले समग्रमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी स्पाइक प्रोटिन भएको बताए। अहिलेको चिन्ता भनेको यो भाइरस सुरुमा चीनको वुहानमा देखिएको भाइरसभन्दा उग्र रूपमा फरक छ।
— बीबीसीबाट