गद्य कविता : “चोरहरु”
— हृदय लेकाली (राम बस्नेत)
चोरहरु बाटोबाटभन्दा
कुबाटोबाट पस्छन्
दैलो फोडेर झ्यालबाट निस्कन्छन्
चोरहरु
यति बाठा हुन्छन् कि
कहाँ कुन घरमा पस्ने
पूरा योजनावद्ध हुन्छन्
चोर न हुन्
उनीहरुको पनि
ग्याङ र र्याङ्क हुन्छ
सुन चोरले
नुन चोरको घोर विरोध गर्छ
कस्तो चोर नुन पनि चोर्ने
नुन चोर भन्छ
साला सुन चोर
मान्छे त डाँकै पो हो
सुन कहाँ चोर्ने चिज हो र …. ?
चोरको पनि एकता नहुँदो रहेछ
चोरमा पनि विविधता हुँदो रहेछ
हिजोआज हाम्रो देशमा दुई खाले चोरहरु छन्
एक खाले जिन्सी बस्तु चोरहरु छन्
अर्को खाले राजनीति चोरहरु छन्
आफूले गरे सबै ठीक
अरुले गरे बेठीक
सत्ताका चोरहरु सत्ताकै लागि ढुकी बस्छन्
सत्ता न हो
टिक्ला या नटिक्ला
टिक्दासम्म सबै झ्वाम पर्नै पर्ने
उछिट्टिँदा पुर्पुरो समाउनै पर्ने
गति न मति भएका चोरहरु
सत्तामा पनि रुन्छन्
सत्ता बाहिर पनि रुन्छन्
ठगी ठगी लुटी खान बानी परेका चोरहरुलाई
समय आए पनि
समय गए पनि
चोर्नै मन लाग्छ
चोरलाई गतिलो भन्दै भन्दिनँ
चोरलाई स्याबास पनि भन्दिनँ
चोरबाट ग्रसित हाम्रो समाजमा
चोरबाट शोषित हाम्रो मुलुकमा
जिन्सी बस्तु चोर्ने चोरहरुभन्दा
राजनीतिका चोरहरु साह्रै डर लाग्छ
असाध्यै घीन र नीच लाग्छ
किनकि जिन्सी बस्तु चोर्ने चोरले
व्यक्ति परिवार मात्र विगार्छ
राजनीति चोरले
युगौ युग देश उठ्नै नसक्ने गरी थला पार्छ
सिङ्गो देश नै बर्बाद पार्छ ।
— सिद्धार्थनगर, रूपन्देही
