बाल कविता : “असल बन”
– रन्जुश्री पराजुली
गर्मी जाडो हिजो आज आउँछन् जान्छन्
बिहान रात पनि त्यसै क्रममा आउँछन्
रात नभई दिन हुन्न सबैले यो जान
गर्मी अनि जाडो आउँछ सबले यो मान।
पढ्ने लेख्ने अल्छी भए ज्ञानी भइंदैन
नपढेकालाई कतै पनि इज्जत गरिँदैन
आज तिमीले पढ्न लेख्न अल्छी मान्न हुन्न
परिश्रमलाई पछ्याउँदै पर फाल्न हुन्न।
सानो मान्छे तिमी आज भोलि ठूलो हुन्छौ
ज्ञान बुद्धि विवेकी भए , भोलि मानी बन्छौ
देश विकास गर्ने जिम्मा तिम्रो काँधमा पर्छ
सोच विचार गरिकन राम्रो कार्य गर्नु पर्छ।
असल ज्ञानी बुद्धि मानी जन्मैदेखि तिमी छौ
भविष्यको कर्मठ नागरिक पनि तिमी नै हौ
झुक्याउने अल्झ्याउने बाधा धेरै वरिपरि
तिमी हिंड्ने बाटो भरि तगारो घरि घरि।
स्वविवेक अँगालेमा जीवन राम्रो बन्ने छ
मिहेनतले तिमीलाई असल बनाउने छ
सफल बन्ने गुरु मन्त्र यही हो जानी राख
विचलित नभइकन कर्म गर्ने उद्यश्य राख।