चीनले ३०० एयरबस किन्नेः मूल्य ३ खर्ब ५० अर्ब अमेरिकी डलर

Investopaper, चैत्र १३, २०७५

पेरिस — चीनले युरोपेली विमान निर्माण कम्पनी ‘एयरबस’ सँग ३ सयवटा जेट किन्ने भएको छ  । चिनियाँ राष्ट्रपति सी चिनफिङको फ्रान्स भ्रमणका बेला दुई पक्षबीच जेट खरिद सम्झौता भएको हो  ।

राष्ट्रपति सीले ‘ए–३२०’ र ‘ए–३५० एक्सडब्लूबी’ विमान खरिदबारे सम्झौतापत्रमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विमानको मूल्य ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्छ ।

अमेरिकी विमान निर्माण कम्पनी बोइङका दुइटा ‘७३७ म्याक्स’ जहाज ५ महिनाको अवधिमा दुर्घटनामा परेपछि चीनले एयरबससँग पछिल्लो सम्झौता गरेको हो । इन्डोनेसिया र इथियोपियामा भएका दुर्घटनापछि बोइङद्वारा निर्मित ‘७३७ म्याक्स’ मोडलका जेट विमानलाई उडानमा रोक लगाइएको छ ।

एयरबस बोइङको प्रतिस्पर्धी विमान निर्माण कम्पनी हो । पाँच महिनामा उही मोडलका दुइटा विमान दुर्घटना भएपछि बोइङले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको जनाएको छ । एयरबससँगको सम्झौताले बोइङलाई ठूलो झडका लागेको छ ।

कतिपयले चीनको पछिल्लो कदमलाई अमेरिकासँगको व्यापार विवादसँग पनि जोडेर हेरेका छन् । अमेरिकाले आफ्नो प्रविधिको चीनले चोरी गरेको आरोप लगाउँदै आफ्नो देश निर्यात हुने सामानमा करवृद्धि गरेपछि क्रुद्ध चीनले पनि उस्तै कदम चालेको थियो । यद्यपि दुई देशका अधिकारीले विवाद अन्त्यका लागि भएका वार्ता सहमति नजिक पुगेको जनाएका छन् ।

चीनको नागरिक उड्डयन निकायले ‘दुइटा बोइङ ७३७ विमान उड्नासाथ दुर्घटना भएका र कारण समान भएको’ जनाउँदै वायुसेवा कम्पनीलाई ‘म्याक्स–८’ विमान नउडाउन निर्देशन दिइसकेको छ ।

एयरबसले एक विज्ञप्ति जारी गर्दै ‘चिनियाँ उड्डयन आपूर्तिसम्बन्धी कम्पनीसँग २९० वटा ए–३२० विमान र १० वटा ए–३५० एक्सडब्लूबी जेट खरिदको’ सम्झौता भएको जनाएको छ । चीनले खरिद गर्न लागेका विमानको मूल्य करिब ३ खर्ब ५० अर्ब अमेरिकी डलर पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘ए–३२०’ विमानको सिट क्षमता १८० देखि १८६ छ भने ‘ए–३५० एक्सडब्लूबी’ मा एकपटकमा ३ सयजनाले यात्रा गर्न सक्छन् । याे समाचार कान्तिपुरमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *