देशकै लामो झोलुङ्गे पुल निर्माण

न्भेष्टाेपेपर । पुस २०, २०८०

ढल्केवर ।  धनुषा र सिरहा जोड्ने कमला नदीमा नेपालकै लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरण पुगेको छ ।  सिरहाको सिरहा नगरपालिका १३, मलहनियाँ र धनुषाको जनकनन्दिनी गाउँपालिका ६, कठाललाई जोड्न निर्माण भइरहेको सो झोलुङ्गे पुल एक हजार पाँच सय एक मिटर लामो र चार फिट चौडाइको छ । यस प्रकारको पुल नेपालकै सबभन्दा लामो रहेको दाबी गरिएको छ । 

सङ्घीय सरकारको २८ करोड लागतमा निर्माण भइरहेको सो पुलको ठेक्का थानी निर्माण सेवा काठमाडौँले पाएको छ । पुल निर्माणको काम माघ दोस्रो सातासम्म सम्पन्न हुने निर्माण कम्पनीका इन्जिनियर विनोदकुमार मण्डलले बताउनुभयो । ठेक्का अवधि २०८१ असार मसान्तसम्म भए पनि छ महिना अगावै माघ महिनाभित्रै सक्ने लक्ष्यका साथ तीव्र गतिमा काम भइरहेको उहाँले जानकारी दिनुभयो । सरकारसँग ठेक्का सम्झौता गरेर निर्माण कम्पनीले २०७९ असोज १ गतेदेखि काम सुरु गरेको थियो । 

इन्जिनियर मण्डलले भन्नुभयो, धनुषातर्फको सम्पूर्ण काम सकिएको छ । सिरहातर्फ आर्लने–उक्लने सिडी निर्माणको काम अन्तिम चरणमा छ । केही दिनभित्र सम्पन्न गरेर आवतजावतका लागि बाटो खुला गर्छौँ । 

पुल सञ्चालनमा आएपछि जनकपुर र सिरहा आवतजावत गर्न बर्षैंदेखिको समस्या हट्ने स्थानीय मुकेश शर्माले बताउनुभयो । पुलबाट दैनिक दुवै जिल्लाका पाँच हजार मानिसलाई ओहोरदोहोर गर्न सजिलो हुने बताउँदै उहाँले भन्नुभयो, सिरहाबाट ३५ किलो मिटरको दुरीमा रहेको जनकपुर पुग्न पूर्वपश्चिम राजमार्ग तथा भारतको बाटो भएर भएर जानुपर्ने बाध्यता हट्छ । 

हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा निर्माण भएको बहुप्रतिक्षीत कमला पुल उद्घाटनअघि नै भत्किएपछि मानिसलाई आवतजावत गर्न समस्या भएका बेला पुलको विकल्पको रूपमा झोलुङ्गे पुल वरदान साबित हुने सो क्षेत्रका सर्वसाधारणको भनाइ छ ।    

पुल बनेपछि यस क्षेत्रमा उत्पादन हुने तरकारी र दूधको बजारीकरणका साथै पर्यटन प्रवर्द्धन तथा व्यापार व्यवसायमा टेवा पुग्ने अर्का स्थानीय बिन्दे मुखियाले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *