नेपालकाे लागि नाैलाे खेती ड्रागन फ्रुटः वार्षिक कमाइ २५ लाख भन्दा धेरै

Investopaper, भाद्र १८, २०७६

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–२ पिपलचौर, जबदीबेँसीमा गरिएको ड्रागन फ्रुट खेतीबाट यहाँका एक किसानले वार्षिक २५ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

बनेपा नगरपालिका–३ घर भएका भेषमान श्रेष्ठले चार वर्ष अगाडि १८ रोपनी जग्गा किनेर १७ रोपनीमा लगाएको खेतीबाट एक वर्ष अगाडिदेखि आम्दानी लिन सुरु गर्नुभएको हो ।

सुरुको वर्षमा पाँच लाख रुपैयाँको बिक्री गरेपछि यस वर्ष २५ लाख रुपैयाँसम्मको बिक्री गरिसकेको उहाँले बताउनुभयो । ‘विसं २०७२ भदौबाट खेती शुरु गरेको हुँ’ उहाँले भन्नुभयो, ‘रोपेको तीन वर्षपछि फल दिन थाल्यो, सुरुमा गएकाे वर्ष पाँच लाख रुपैयाँको बेचेँ, अहिले झण्डै २५ लाख रुपैयाँको बेचिसकेको छु ।’ असारबाट फल्न सुरु गरेको फल मङ्सिरसम्म निरन्तर फल्ने उहाँको भनाइ छ ।

अब झन् फल लाग्ने समय बढ्दै गएकाले वार्षिक एक करोड रुपैयाँसम्मको आम्दानी लिन सकिने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘केही वर्षपछि लगाएको बोटबाट वार्षिक तीन करोडसम्मको आम्दानी लिने लक्ष्य छ, अब समय र मौसमले कतिको साथ दिन्छ, हेरौँ ।’ अझै पनि फल्ने क्रम निरन्तर रहेकाले थप आम्दानी हुने उहाँले बताउनुभयो । यस वर्ष वर्षाका कारण समस्या भएर कम फलेको उहाँको भनाइ छ । यो वर्ष १५ देखि २० हजार किलोसम्म फल्छ कि भन्ने सोचेकामा वर्षाका कारण बिग्रेर कम फलेको उहाँ बताउनुहुन्छ । 

तीन जना मिलेर ‘काँशीखण्ड ड्रागन एग्रिकल्चर फार्म’ दर्ता गरी सुरु गरेको यो खेतीमा जग्गासहित गरेर अहिलेसम्ममा करिब २ करोड ५० लाख लगानी भएको श्रेष्ठले बताउनुभयो । गर्मी ठाउँमा खेती हुने ड्रागन फ्रुट अरु फलभन्दा भिन्न गर्मी र जाडो समय दुवैमा खान मिल्ने फल हो । झन्डै १३ थरिको पोषणतत्व पाइने याे फल जसले खाँदा पनि हुने किसान श्रेष्ठ बताउनुहुन्छ । कोलेस्ट्रोल र क्यान्सरका लागि धेरै फाइदाजनक फल रहेको यो फल एउटाको ३०० देखि ५०० रुपैयाँसम्म पर्ने उहाँको भनाइ छ ।

खेतीका लागि सहकारी संस्थामार्फत ४० लाख रुपैयाँ जति ऋण सहयोग र बिरुवासमेत उपलब्ध भएपछि आफूले खेती शुरु गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो । कलाकारिता क्षेत्रमा काम गर्नुभएका श्रेष्ठ कामको सिलसिलामा मलेशिया पुग्दा खाएको मिठो स्वादको फल फाइदाजनक रहेको भन्ने थाहा पाएपछि नेपाल फर्केर खेती सुरु गरेको उहाँले बताउनुभयो ।

दूध डेरी व्यवसायमा समेत काम गरिसक्नुभएका उहाँले पछिल्लो समयमा गाउँ पसेर ड्रागन फ्रुट खेती गर्न थाल्नुभएकाे हाे ।

‘धेरै मेहनत गरेर खेतीमा लागेको कारण अब मेरो यसैमा लगानी हुनेछ’, उहाँले भन्नुभयो, ‘मेरो मेहेनत र उत्पादन देखेर नगरपालिका पनि प्रभावित भएको छ, नगरपालिकाबाट जग्गा उपलब्ध गराइदिए म १००–२०० सय रोपनीसम्मको जग्गामा पनि खेती गर्नसक्छु ।’ अनुगमनका क्रममा नगरपालिकाबाट पनि सहयोग गर्ने आश्वासन पाएको उहाँले बताउनुभयो ।

नमुनाका रुपमा खेती गर्दै आएको भए पनि सरकारी तथा अन्य निकायबाट कुनै सहयोग र अनुदानसमेत नपाएको उहाँको भनाइ छ । अहिलेसम्ममा उहाँको फार्ममा पूर्वमन्त्रीदेखि वर्तमान सांसद र स्थानीय सरकार प्रमुखका साथै किसानले समेत अवलोकन गरिसकेका छन् ।

‘लगानी धेरै भए पनि खेती गरेपछि राम्रो फल्यो, धेरै खुशी छु, पहिलोपटकको लगानी भएकाले पनि बढी नै लगानी भयो, तर अब फल्न सुरु गरेकाले अब यसपालि अलि–अलि भए पनि ऋण तिर्न सजिलो भयो’, उहाँले भन्नुभभो, ‘नेपालमै पहिलोपटक व्यावसायिक खेती गरेकाले पनि बजारको लागि कुनै समस्या छैन ।’

उहाँले उत्पादन गरेको फल सिैगापुर गइरहेको छ । त्यससँगै काठमाण्डौको बानेश्वर र महाराजगञ्जमा पनि केही फलफूल पसलहरुले माग गरेकाले यसपालि त्यहाँ पनि बिक्री गर्दै आएको श्रेष्ठले बताउनुभयो । केही व्यक्तिले अलिअलि खेती सुरु गरे पनि यसरी व्यावसायिक रूपमा खेती गरेको नेपालको नै आफू पहिलो किसान भएको उहाँको भनाइ छ । उहाँको फार्ममा ९०० पिलरमा करीब तीन हजार बिरुवा रहेका छन् ।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *