बेइजिङमा डेटिङ स्कुल : जहाँ लभ र पुरुषलाई मेकअप गर्न सिकाइन्छ
इन्भेष्टोपेपर । भाद्र ३१, २०७७
तपाईंले माया पिरतीलाई कसरी लिनुभएको छ ? डेटिङ जाने सोख तपाईंको छ ? डेटिङ जाँदा कसरी जाने, कहाँ जाने, के गर्ने, के के कुरा जान्नुपर्छ भन्ने कुरा तपाईंलाई थाहा छ कि छैन । छैन भने अब तपाईं यही सीप सिक्नका लागि स्कुल जान पाउनुहुने भएको छ । र, यो स्कुलको स्थापना भएको छ चीनमा ।
नेपाललगायत विश्वका सबै देशमा युवा-युवती आफ्नो माया पिरतीका कुरा गर्दै घुम्न जानुलाइ नै डेटिङ भनिन्छ । यो भावनात्मक सम्बन्ध विकासका लागि उपयोगी हुन्छ । साथै प्रेमिल जोडीको सम्बन्ध सुधार र दुई प्रेमीबीचको मनका कुरा बुझ्नका लागि डेटिङ उपयोगी हुन्छ । डेटिङ नृत्य गरेजस्तै कला पनि हो । यही कला सिकाउन चीनको राजधानी बेइजिङमा डेटिङ स्कुल स्थापना भएको हाे ।
आर्थिक विकासको अग्रगतिमा अघि बढिरहेको चीनमा ‘एक सन्तान नीति’ले सेक्सको अनुपात बिगारेपछि त्यसलाई व्यवस्थापन गर्न तयार पारिएको अवधारणाअनुसार डेटिङ स्कुलको स्थापना भएको हो ।
चीनमा महिलालाई डेटिङका लागि फकाउनु युद्ध जितेभन्दा कडा काम मानिन्छ । त्यसका लागि डेटिङलाई कसरी रोचक बनाउन सकिन्छ भन्ने जानकारी दिइन विद्यालय नै खोलिएको सञ्चालकहरू बताउँछन् ।
‘लभ इनर्जी’ नामक डेटिङ स्कुलका सञ्चालक यी कुई उर्फ मोकाले डेटिङलार्इ म्याजिक कार्डको रूपमा व्यख्या गरेका छन् । उनले भनेका छन्, ‘परिपक्व डेटिङ डान्सजस्तै हो । डान्स गर्दाजस्तै डेटिङमा जाँदा पनि आफ्नो पार्टनरलाई कहिले नजिक तान्नुपर्छ त कहिले टाढा धकेल्नुपर्छ । यसबीचको समयमा सधै आफ्नो पार्टनरसँग संवेदनशील भावना रहनुपर्छ ।’ उनको यही भनाइलाई पूर्णता दिने काम लभ स्कुलमा हुने गर्छ।
कोर्स पूरा गर्न ४५ सय डलर
‘लभ इनर्जी’ स्कुलबाट डेटिङ विषयको कोर्स पूरा गर्न ४५ सय अमेरिकी डलर रकम तिर्नुपर्ने प्रावधान छ । यसलाई सजिलो बनाउन अनलाइन कोर्सको पनि व्यवस्था छ। जसको शुल्क प्रतिमहिना ३० डलर मात्र छ।
अहिले डेटिङको विषयमा अध्ययन गर्ने विद्यार्थीको समूह २३ देखि ३३ वर्षसम्मको छ । अहिलेसम्म भर्ना भएकामध्ये सबैभन्दा कम उमेर १९ वर्ष र सबैभन्दा बढी उमेर ५९ वर्ष छ।
पुरुषलाई मेकअप
चीनमा महिलाको तुलनामा पुरुषको संख्या बढी भएकाले पुरुषलाई डेटिङमा जाने साथी पाइँदैन । त्यसैले पुरुषलाई आकर्षक बनाउन मेकअपका कुरा पनि ‘इन लभ कोचिङ सेन्टर’ मा सिकाइन्छ । उनीहरूलाई राम्रो बनाएर खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा अपलोड गर्न लगाइन्छ । यस्तै, माया प्रेमका भावनात्मक कुरा गर्न डराउने युवालाई निडर बनाउन तालिम दिने गरिन्छ ।
चीनको यो प्रयोगले सफलता पाएसँगै अहिले विश्वभर यसको अनलाइन कोर्सकाे माग बढेको छ । ठूला तथा शक्तिशाली देशहरूमा पनि लभ स्कुल खोल्ने विषयमा अध्ययन शुरु भएको पाइन्छ ।
— बीबीसीको सहयोगमा
