दिवंगत पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णमा भक्तजनको भीड

इन्भेष्टाेपेपर ।  भाद्र ११, २०७९

काठमाडौं । दिवंगत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौंकाे उत्तर-पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ ।

भाद्र कृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएको छ । 

यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत मन्दिर परिसरमा भीड लागेको हाे । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वागमतीको कोरिडोर भएर गुड्ने सवारी साधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त, बौद्धले जनाएको छ ।

सत्ययुगमा ब्रह्माले स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदा दान र पिण्ड दान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका रहेकाे मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयाे । साेही कारण भाद्र कृष्ण औंसीमा मन्दिरमा भक्तजनको भीड लाग्ने गरेकाे उहाँकाे भनाइ छ ।  

गोकर्णेश्वरमा आएका भक्तजनहरू व्यवस्थापन कमजाेर हुँदा दुःख पाएको बताउँछन् । पाल्पाबाट आएका दर्शनार्थी उमेश रेग्मीले गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउनु भयाे । मन्दिर क्षेत्रमा सार्वजनिक जग्गामा घर बनाई बाटो साँघुरो भएकोले जोरपाटीदेखि हिँड्नुपर्दा समस्या भएको उहाँले गुनासो गर्नुभयाे । 

शास्त्रीयरूपमा महत्त्व रहेको पवित्र तीर्थस्थलको व्यवस्थापनमा तीन तहका सरकारमध्ये कसैको पनि ध्यान नगएको भक्तजनहरू बताउँछन् ।

यस क्षेत्रमा वैदिक सनातन हिन्दु धर्मावलम्बी मात्र होइन, बिहानैदेखि बौद्ध धर्मावलम्बीको पनि भीड लागेको छ । एक वर्षभित्र पिता दिवंगत भएका बौद्धमार्गी यहाँ आएर श्राद्ध र पूजा आजा गरी भोज खाने प्रचलन रहेको बौद्धधर्म गुरु पासाङ लामाले बताउनुभयाे । आजको दिनमा गोकर्णमा आई दर्शन गरेमा दिवंगत पिताको स्वरूप दर्शन गर्न पाइने बाैद्ध धर्मावलम्बीमा विश्वास छ । 

गोकर्णमा मेला लाग्ने भएकाले आजको औंसीलाई गोकर्णे औंसी पनि भनिन्छ । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बाल यन्त्रको पूजा आराधना हुने भएकाले पशुपतिनाथ दर्शन गर्नेले गोकर्णेश्वर महादेवको पनि दर्शन गर्नुपर्ने मान्यता रही आएको छ । 

आजैको दिन हिन्दू धर्मावलम्बीले वर्षभरि घरमा धार्मिक कृत्य गर्नका लागि आवश्यक कुश भित्र्याई कुशे औंसी पर्व मनाउँछन् । कुशलाई भगवान् विष्णुको स्वरूप मानिन्छ । त्यसैगरी आफ्ना बाबुलाई मीठो मीठो खान दिई बाबुको मुख हेर्ने पर्व पनि मनाइँदैछ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *