प्रशारणलाइन निर्माणका लागि एक करोड मुआब्जा वितरण

इन्भेष्टोपेपर । श्रावण २१, २०७

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रशारणलाइन निर्माणका लागि १ करोड रुपैयाँभन्दा बढी मुआब्जा वितरण गर्ने भएको छ ।

यसका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणबापत आयोजनाले १ करोड ३१ लाख ३४ हजार ५१० रुपैयाँ वितरण गर्नेछ ।  ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज तीन अन्तर्गत प्रशारणलाइनको ठेक्का भारतीय कम्पनीले पाएको छ । हालसम्म निर्माणका लागि २६ ओटा फाउण्डेशनको काम सकिएको आयोजना प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयाे।     
     
टावर निर्माणका लागि भारतबाट प्राविधिक टिम आएर साइटमा आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयाे । कुल ५९ कित्ता (२३ रोपनी पाँच आना) जग्गा अधिग्रहण गरिनेछ । यसका लागि जग्गाको कित्ताकाँट गरी प्रक्रिया थालिएको छ ।     
     
यस क्रममा व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६,आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्रपर्ने जग्गा अधिग्रहण गरिनेछ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मुआब्जा निर्धारण समितिले मूल्य तोकेको थियो ।

जग्गा अधिग्रहणका लागि मूल्य निर्धारण उपसमितिले चलनचल्तीको मूल्य, मालपोतको दर, स्थानीय तहले मूल्याङ्कन गर्ने आधार, बैंकले मूल्याङ्कन गर्ने आधारलाई प्राथमिकतामा राखेर मुआब्जा निर्धारण समितिलाई सिफारिस गरेको थियो ।     
     
मुआब्जा वितरणका लागि न्यूनतम प्रतिरोपनी २४ लाख निर्धारण गरिएको थियो । प्रशारणलाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुख कटान हुनेछन् । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारणलाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । यो काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।    
     
आयोजनाको हालसम्म तीन ओटा सुरुङ निर्माण सकिएको छ । ४३७ दशमलव १ मिटर लामो सर्च ट्याङ्क जाने पहुँच सुरुङ साउन १५ गते, २८०।८५ मिटर लामो मुख्य पहुँच सुरुङ असार २ गते र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ गत जेठ २१ गते पूरा भएको छ ।     
     
केही समयअगाडि मात्रै सम्झौता भएको प्याकेज १ को कामका लागि निर्माण कम्पनीले आवश्यक तयारी शुरु गरेको छ । आयोजनाको मुख्य काम नदी फर्काउने, बाँध निर्माण लगायतका पहिलो प्याकेजको काम शुरु गरिएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *