डा. ताेसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

इन्भेष्टाेपेपर ।  कार्तिक १५, २०७९

काठमाडौं । सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले मंगलवार कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘कुनै काउन्सिल वा सङ्गठित संस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता वा भ्रमण भत्ता वा सवारी खर्चजस्ता आर्थिक लाभ नियमित प्रकृतिको नहुने अवस्थाको देखिन आउँछ ।’

नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको उल्लेख गर्दै निर्वाचन आयोगले यही १२ कात्तिकमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध कार्कीले सोमवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएकाे थियाे ।

अदालतले मेडिकल काउन्सिलको सदस्य पद नियमित पारिश्रमिक पाउने पद वा नियमित जिम्मेवारीको पद नभएको  हुँदा प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐन २०७४ को दफा १२ को खण्ड (ङ) अनुसार काउन्सिलको सदस्य पद लाभको पद मान्न नमिल्ने व्याख्या गरेको छ ।

निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयले राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्कीलाई भने फाइदा भएको छ । उहाँको उम्मेदवारी वारे थाहा नपाएका हजारौ सर्वसाधारणले आयोग र अदालतको निर्णयकै कारण कार्कीको उम्मेदवारी वारे थाहा पाएका छन् ।

कार्की उम्मेदवार रहेको ललितपुर ३ मा सत्ता गठबन्धनबाट माओवादी नेतृ पम्फा भुसाल र नेकपा एमालेबाट अमृत खड्का उम्मेदवार छन् । कार्कीको उम्मेदवारी कायम रहेएसँगै ललितपुर ३ को चुनावी माहोल थप रोचक हुने भएको छ ।  रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *