नागढुंगा–कलंकी सडकखण्डमा आकाशे पुल निर्माण गरिने

इन्भेष्टोपेपर । फागुन २७, २०७६

काठमाडौँस्थित चन्द्रागिरी नगरपालिकाले नागढुंगादेखि कलंकीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ।

काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मेयर घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए।

‘आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ,’ उनले भने।

नगरपालिकाले काठमाडौँ भित्रिने प्रमुख स्थान नागढुंगामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ। उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको मेयर गिरीले बताए।

नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुंगा–कलंकी सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ। सिसीटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ।

नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ। नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नम्बर ८ मा १५ शैय्याको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ।

भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ। चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको गिरीले बताए।

नगरपालिका बागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। उक्त नगरपालिकामा १५ वडा रहेका छन्।

— रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *