स्वदेश फर्कने नेपालीलाई टेलिकमकाे निःशुल्क सिमकार्ड

इन्भेष्टोपेपर ।  जेष्ठ  २२, २०७७

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ ।

नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका)हरु तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई बस्ने व्यवस्था मिलाउने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरुमा बुथ स्थापना गरी कम्पनीले निःशुल्क सिम उपलब्ध गराउने छ । यस प्रयोजनका लागि कम्पनीले तत्काल १ लाख सिमकार्डको व्यवस्था गरिसकेको छ ।

यसरी सिम प्राप्त गर्नका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचय पत्र उपलब्ध नभएको अवस्थामा उहाँहरुका आफन्त तथा निकटका व्यक्तिको परिचय पत्रबाट पनि सिम उपलब्ध गराउन सकिने छ ।

कम्पनीेले उपलब्ध गराउने सिमकार्डको माध्यमबाट प्रयोगकर्ताले आफन्तसँग सम्पर्क गर्न सहज हुनुका साथै नेपाल फर्किएपछि उहाँहरुको स्वास्थ्य अवस्था तथा सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुनेछ ।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने नेपालीहरुका लागि नेपाल सरकारले काठमाडौ उपत्यकामा व्यवस्था गर्ने ८ वटा होल्डिङ सेन्टरहरुमा नेपाल टेलिकमले निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने छ ।

कम्पनीका यी प्रयासहरुबाट ग्राहकलाई थप सुविधा पुग्नुका साथै समुदायमा कोरोना भाइरस नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *