नङ टाेक्ने आदत, स्वास्थ्यकाे लागि निकै घातक !

इन्भेष्टोपेपर । भाद्र ०९, २०७७

सामान्यतया सबै खाले रोगव्याधबाट जोगिन चिकित्सकदेखि घरपरिवारका ठूलाबडाले हात सफा राख्ने सल्लाह दिन्छन्। सबै भन्छन्, ‘हात सफा राख। दिसा–पिसाब गरेपछि साबुनले हात धोऊ, खाना खानुअघि हात धोऊ।’ 

भनिन्छ हात सफा भए कीटाणू फैलिँदैनन्। खानेकुरा बेच्नेहरूले अझ बढी हात सफा राख्नुपर्छ। तर, यथार्थमा हुन्छ के भने हामीले जतिसुकै प्रयास गरे पनि हातबाट ब्याक्टेरिया÷कीटाणू पूर्णतया समाप्त हुँदैनन् वा भनौँ हाम्रो हात कीटाणूमुक्त हुँदैन। त्यसैले बिरामीको जाँच वा उपचार गर्दा चिकित्सक र नर्सहरू पन्जा लगाउँछन्।

करिब सय वर्षअघि चिकित्सकले के पाए भने, बारम्बार हात धुँदा पनि हात पूर्ण रुपमा कीटाणूमुक्त हुँदैन। तर, यसको कारण पत्ता लगाउन भने करिब ७० वर्षभन्दा बढी समय लाग्यो।

सन् १९७० तिर आएर मात्र हात पूर्णतया कीटाणूमुक्त नहुने कारण पत्ता लाग्यो। वैज्ञानिकहरूले परीक्षणबाट के पत्ता लगाए भने हातका औंलाको टुप्पो सफा भए मात्र कीटाणू फैलन घट्छ। हाम्रो नङमुनिको ठाउँमा यति धेरै कीटाणू हुन्छन् कि यसलाई कीटाणूको घर भने हुन्छ।

हात धुँदा नङ र औंलाको काप राम्ररी सफा हुँदैन। साथै हात धोएपछि पनि नङ र काप धेरै बेरसम्म सुक्दैन। सुख्खा नहुने र ओसिलो (भिजेको) ठाउँमा ब्याक्टेरियाको अत्यन्त छिटो वृद्धि हुन्छ।

सन् १९८८ मा अमेरिकाको पेन्सिलभानिया विश्वविद्यालयमा एउटा अनुसन्धान भयो। अनुसन्धानमा २६ जना स्वयंसेवक र केही कर्मचारीका हातको नमूना परीक्षण गरियो। परीक्षणमा नङ र औंलाका काप नै त्यस्ता ठाउँ प्रमाणित भए, जहाँ हातका अन्य भागभन्दा बढी ब्याक्टेरिया पाइयो। पूरै हातभरि हजारौं ब्याक्टेरिया भेटिए भने नङमुनि लाखौं ब्याक्टेरिया फेला परे।

हात धुँदा पनि साबुन नङमुनि मुस्किलले पुग्छ र त्यहाँ रगडेर सफा गर्न पनि कठिन छ। यसैकारण नङमुनि ब्याक्टेरिया मजाले वृद्धि भइरहन्छन्। यसमा हामीले पाल्ने लामा नङ र नक्कली नङको पनि ठूलो योगदान रहन्छ। 

सन् १९८९ मा अमेरिकामा त्यहाँका केही नर्सले नङबाट बिरामीलाई हुने हानीबारे लेखेका थिए। यसपछि एउटा अनुसन्धान गरियो। अनुसन्धानमा ५६ जना नक्कली नङ लगाउने नर्स र ५६ जना प्राकृतिक रुपमा नै लामा नङ पालेका नर्सको हातका नमूना लिइयो। परीक्षणमा सक्कलीभन्दा नक्कली नङमुनि बढी ब्याक्टेरिया वृद्धि भइरहेको पाइयो। यसको कारण थियो, नक्कली नङयुक्त हातको सफाइ राम्रोसँग गर्न सकिँदैन।

साथै, नक्कली नङ भएका नर्सहरूले आफ्ना हातका कीटाणू बिरामीलाई सारिरहेका थिए। सन् २००० र २००२ मा गरिएका परीक्षणबाट पनि यस्तै परिणाम आए, जसमा नक्कली नङबाट हुने हानीबारे सचेत गराइएको थियो।

नक्कली नङका तुलनामा पालिस लगाएका प्राकृतिक नङमुनि ब्याक्टेरिया थोरै हुने अनुसन्धानहरूले देखाएका छन्। तर, नङमा लगाएको पालिसमा पर्ने चिरामा भने ब्याक्टेरियाको बास हुनसक्छ। सन् १९९३ मा अमेरिकी राज्य बाल्टिमोरस्थित जोन हप्किन्स इन्स्टिच्युटमा भएको एउटा अनुसन्धानले यस्तो परिणाम देखाएको थियो।

यी अनुसन्धानबाट के प्रस्ट हुन्छ भने स्वस्थ रहन लामो नङ नपाल्नु र सफा राख्नु अत्यन्त आवश्यक छ। यसो गरे हात पूर्णतया कीटाणूमुक्त नभए पनि निकै न्यून हुन्छ। भर्खर पालिस लगाएको नङमुनि थोरै कीटाणू हुन्छन्। तर चार–पाँच दिन वा त्यसभन्दा अघि पालिस लगाएको नङमुनि भने कीटाणूको संख्यामा वृद्धि भइहाल्छ। 

बर्सेनि विश्वभर करिब ३० लाख मानिसको मृत्यु डाइरियाबाट हुने गरेको छ। सरसफाइ विज्ञहरूका अनुसार हात राम्ररी धुने हो भने तीमध्ये १० लाखको जीवन बचाउन सकिन्छ। र, हामीले आफ्ना नङ नपाल्ने र हात सफा राखे अझै धेरै जीवन बचाउन सकिन्छ। धेरै मानिसको नङ टोक्ने बानी हुन्छ। नङ कीटाणूको भण्डार भन्ने थाहा पाइसकेपछि अझै नङ टोक्नु हुन्छ ?

— बीबीसीबाट

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *