हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम लन्च गर्दैः एन्ड्रोइडभन्दा ६० प्रतिशत द्रुत हुने दाबी
Investopaper, असार ०२, २०७६
अमेरीकन कम्पनी गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइड प्रयोग गर्नमा प्रतिबन्ध लगाएपछि चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले आफ्नै अपरेटिङ्ग सिस्टम हङ्गमेङ्ग ल्याउँदैछ ।
हुवावेको यो अपरेटिङ्ग सिस्टम एन्ड्रोइडभन्दा ६० प्रतिशतसम्म धेरै तेज हुनसक्ने दाबी गरिएको छ ।
ग्लोबल टाइम्समा स्राेतको हवाला दिँदै छापिएको समाचार अनुसार छिट्टै नै लञ्च हुने हङ्गमेङ्ग गुगलको एन्ड्रोइडभन्दा निकै तेज हुनेछ ।
समाचार अनुसार शाओमी तथा भिभोजस्ता कम्पनीहरुले हुवावेमा उसको अपरेटिङ्ग सिस्टमको परीक्षणका लागि आफ्ना कर्मचारी पठाउन थालेका छन् । अहिले यी सबै कम्पनीले आफ्ना स्मार्टफोनमा एन्ड्रोइड प्रयोग गर्दै आएका छन् ।
हुवावेको मेट ३० मा नयाँ अपरेटिङ्ग सिस्टम :
ग्लोबल टाइम्स आफ्नो समाचारमा लेख्छ, ‘हुवावेले इन्टरनेट दिग्गज कम्पनी तथा घरेलु स्मार्टफोन कम्पनीहरुसँग मिलेर आफ्नो अपरेटिङ्ग सिस्टम हङ्गमेङ्गको परीक्षण गरिरहेको छ । यो नयाँ सिस्टम आउँदो केही महिनामै लञ्च गरिनेछ ।’
हुवावेको Mate 30 स्मार्टफोनलाई यो नयाँ अपरेटिङ्ग सिस्टमको साथमा लञ्च गरिने सम्भावना रहेको बताइएको छ । ढिलोमा यो अंग्रेजी वर्षको अन्त्यसम्ममा हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमयुक्त स्मार्टफोन ल्याउने योजना हुवावेको छ ।
एप डेभलपर्सलाई आह्वान :
हुवावेले हालै कम्तीमा ९ वटा देश तथा युरोपमा समेत आफ्नो अपरेटिङ्ग सिस्टको ट्रेडमार्कका लागि निवेदन दिइसकेको छ । यसैबीच हुवावेले विश्वभरका एप डेभलपर्सलाई हङ्गमेङ्ग अपरेटिङ्ग सिस्टमको एप ग्यालरीमा आफ्नो एप पब्लिस गर्नका लागि प्रोत्साहित गरिरहेको छ । गुगलको प्ले स्टोरलाई टक्कर दिने गरी एप ग्यालेरी तयार गर्ने लक्ष्य हुवावेको छ ।
यहीँ हप्ताको सुरुवातमा साउथ चाइना मर्निङ्ग पोस्टले हुवावेको यस अपरेटिङ सिस्टमको विस्तृत विवरण समावेश गरी रिपोर्ट प्रकाशित गरेको थियो । रिपोर्ट अनुसार हुवावेको अपरेटिङ सिस्टम Microkernel मा आधारित छ । जसले निकै कम स्पेस लिनुका साथै बढी सुरक्षित र सरल रहने बताइएको छ ।
- एजेन्सी
