यस सप्ताहकाे कृषि कर्म र माैसमी अवस्थाबारे जानकारी
इन्भेष्टोपेपर । आश्विन २३, २०७८
मौसमी सारांश:
• गत साता देशको अधिकांश केन्द्रहरुमा वर्षा मापन भएको छ। प्रदेश नं-२ र गण्डकी प्रदेशका केही जिल्लाहरुमा १०० मि.मि. भन्दा बढी वर्षा मापन भएको छ। तराईका सबै स्थानहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र केही स्थानहरुमा न्यूनतम तापक्रम २५ डि.से. भन्दा बढी मापन गरिएको छ।
• देशका अधिकांश भू-भागमा साताभरी नै आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी र कर्णाली प्रदेशमा भने साताको अन्त्यमा आंशिक बदली रहने सम्भावना देखिन्छ।
• लुम्बिनी र कर्णाली प्रदेशका थोरै भू-भागहरुमा साताको शुरु र मध्यमा र बाँकी क्षेत्रमा साताभर केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
• प्रदेश नं-१ मा साताको शुरु र मध्यतिर, गण्डकी प्रदेशमा साताको शुरुतिर एक-दुई स्थानमा भारी वर्षाको सम्भावना समेत रहेको छ।
• हिमाली भू-भागहरु मध्ये प्रदेश नं-१ का केही स्थानहरुमा साताको शुरु र मध्यमा र गण्डकी प्रदेशमा साताको शुरुमा हल्का देखि मध्यमसम्मको र बाँकी प्रदेशका थोरै स्थानहरुमा साताभर थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
• देशका हिमाली तथा पहाडी भू-भागमा न्यूनतम र अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर देशभर तराई भू-भागमा सामान्य बृद्धि हुनसक्ने देखिन्छ।
• साताको अन्तसम्ममा देशका अधिकांश भू-भागबाट मनसुन बहिर्गमन हुने प्रबल संभावना देखिएको छ।
कृषि सारांश:
• धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
• धानबालीमा बाला पसाएपछि दुध भरिने अवस्थामा पतेरो कीराको प्रकोप देखिने हुँदा नोक्सानी कम गर्नको लागी खेत भित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको बैकल्पिक आश्रय नष्ट गर्ने; प्रकाश पासोको प्रयोग गरि बयस्क कीरालाइ मार्ने तथा डर्टी ट्रयापको प्रयोग गर्नुहोस्।
• मध्य पहाड देखि उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात: लुम्ले -१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानिय तोरी -३, बेंसीको लागि उन्नति र प्रिती, तराई र भित्री मधेशको लागि विकास, प्रगति, उन्नति, प्रिती, मोरङ् तोरी-२, सुर्खेत स्थानिय तोरी -३ तथा नवलपुर स्थानिय-४ मध्ये उपलब्ध जातहरुलाई बेभिष्टिन २ ग्राम प्रति के.जी. का दरले उपचार गरी लगाउनुहोस्।
• यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।
• तराई, भित्री-मधेश तथा बेँशीमा शित भण्डारणबाट निकाली राम्रोसँग टुसाएका खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ आलु रोप्नुहोस्।
• २०-२५ दिन पुगेको खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको तयारी बिरुवाहरु साँझपख सार्नुहोस्।
• मध्यपहाडी भेगमा बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी आम्दानी लिन सकिन्छ।
• मिनो अर्ली र प्यूठाने रातो जातको मूला रोप्नुहोस्।
• चाडपर्वको समयमा विभिन्न ठाँउहरुबाट आयात हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुने भएकोले आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुबाट टाढै राख्नुहोस्।
• बंगुरमा खोरेत र स्वाइन फिभर विरूद्ध खोप लगाउनुहोस्। साथै ३-१४ दिनका बंगुरका पाठापाठीहरुलाई रक्तअल्पताबाट बचाउन आईरन इन्जेक्सन लगाउनुहोस्।
• बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
• यो समयमा परेको पानीले ट्राउट माछामा पातलो पहेँलो दिसा (कक्सिडियोसिस रोग) देखिन सक्ने हुँदा दानामा टोल्ट्राजुरिल १५ मिलिग्राम प्रति के.जी. माछाका दरले भटमासको तेल (०.७% प्रति के.जी. दाना) मा मिसाई खुवाउनुहोस्। पहेंलो दिसासँगै रगत पनि मिसिएको देखिएमा भिटामिन के १०० मिलिग्राम प्रति के.जी. दानामा थप गरि ७ दिनसम्म दिनुहोस्।
• मध्यपहाड र तराईमा हिउँदे घाँसहरु- बर्सिम, जै, भेच, केराउ आदि लगाउन शुरु गर्नुहोस्। उच्च पहाडी र हिमाली भेगमा क्लोभर, राईग्रास, कोते लगाउनुहोस्।
• कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
