आकर्षक मानिएका दुइवटा हाइड्रोपावरको आइपिओ आजबाट, १० कित्ता आवदेन दिन पाइने
काठमाण्डाै, वैशाख ६, २०७५
जनताको जलविद्युत् कार्यक्रममा परेको र अति आकर्षक मानिएका रसुवागढी र सान्जेन जलविद्युत् कम्पनीको सर्वसाधारणका लागि शेयर निष्कासन (आईपीओ) आजबाट हुने भएको छ । दुबै आयोजनाले निष्काशन गरेको प्राथमिक शेयरका लागि न्युनतम १० कित्ताको लागि आवदेन दिन पाइनेछ।
१) सान्जेन जलविद्युत कम्पनीः
सान्जेन जलविद्युत कम्पनीले सर्वसाधारणको लागि ५४ लाख ७५ हजार कित्ता निष्काशन गरेकोमा ५ प्रतिशत सामुहिक लगानी कोषका लागि दुई लाख ७३ हजार ७५० कित्ता छुट्याएको छ। ४ प्रतिशत अर्थात दुई लाख १९ हजार कित्ता प्राथमिक शेयर कर्मचारीहरुको लागि र बाँकी ४९ लाख ८२ हजार २५० कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो।
सान्जेन जलविद्युतमा माथिल्लो सान्जेन १४.८ मेगावाट र सान्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट रहेको छ । यो जलविद्युत् आयोजनाले न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन माग गरेको छ ।
कम्पनीको साधारण लगानी फिर्ता अवधि ७ वर्षको रहेको छ। आयोजनाको जम्मा लागत ८ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागि १५ करोड ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
यस कम्पनीकाे धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो भने सहायकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड हो ।
२) रसुवागडी हाइड्रोपावर कम्पनीः
रसुवागडी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि एक करोड दुई लाख ६३ हजार १५० कित्ता मध्ये ४ लाख १० हजार कित्ता कर्मचारीहरुका लागि, ५ लाख १३ हजार कित्ता सामुहिक लगानीकोषका लागि र बाँकी ९३ लाख २९ हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरेको हो।
रसुवागढीले पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ । रसुवागढी हाइड्रोपावरले १११ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
यस कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.१२ वर्ष लाग्नेछ। आयोजनाको प्रतिमेगावाट लागत १५ करोड १२ लाख रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।
यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो भने सहायक कम्पनीमाा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल रहेको छ ।
दुबै कम्पनीको शेयरमा मेरोशेयर तथा लगानीकर्ताको बैंक खाता रहेको सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ ।
