कविता : मेरो देशकाे अवस्था
— कुल थापा
यहाँ मुखाले बोल्ने हो
निमुखाहरुको के नै लाग्दो रहेछ र ?
गुटवन्दि र भागवन्दिले शासन गर्ने हो
सिद्धान्त र सर्व-स्वीकार्यताको मतलबै के रहेछ र ?
अशक्षमहरुको विगविगिमा
कहाँ न्यायले ज्यून पाउँछ र ?
सत्ता प्राप्तिको गौरवी चालभित्र
कसोगरि राम राज्य छाउँछ र ?
मरेर गयौ भूपि तिमी
तर रोकिएन घूम्ने मेच माथि अन्धो मान्छे बस्न
सेरियौ रेटियौ भिमसेन तिमी
तर, अझसम्म छाडेन यो देशलाई सतिले सराप्न
कसरी सकिन्छ र आफ्नै आत्मालाई ढाँटन ?
तर पनि हनूमानी प्रवृति बोलेकै छ
आफ्नै कुकर्मको दोष लुकाउन
अवान्छनिय तर्क र पूर्वघटना रोजेकै छ ।
ए हजूर……..
न्याय र अन्याय छुट्याउन नसक्ने हाम्रा आँखा
सायद स्वयम्भूनाथलाई चढाई सक्यौँ !
न्याय निसाफमा सक्रिय हुनुपर्ने हाम्रो मष्तिस्क
सायद रामशाह सगैँ सदगद गरिसक्यौँ !
यहाँ, सबै नेता सबै तर्क शास्त्री भयौँ
त्यसैले, सत्य र पानी बगाउनु पर्नेमा
कुरो र कुलो मात्र बगायौँ
न्यायलाई रछ्यानमा मिल्काएर
आसुरीे प्रवृतिलाई जगायाैँ ।
आऊ साथी………
पद्धतिलाई कुल्चेर सिद्धान्तलाई च्यातेर
कानूनका छिद्र टालेर, सिंहदरबार निर्माण गरौँ
आफ्नै विश्वास र सत्यवादीतालाई बन्धकी राखेर
क्षणिक नै सही, विजयोत्सव मनाऔँ !
साथी ! विजयोत्सव मनाऔँ !!
कुल थापा
नागार्जुन १ राधाकृष्ण
