विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनी

न्भेष्टाेपेपर । पुस २९, २०८१

लुम्बिनी ।  बुद्ध जन्मस्थल लुम्बिनी विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा परेपछि यस क्षेत्रमा खुशी छाएको छ । खासगरी पर्यटक व्यवसायी यसबाट खुशी छन् ।

सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्ये नवौं नम्बरमा लुम्बिनी छ  । ‘‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँमध्ये लुम्बिनी नवौं स्थानमा पर्नु हाम्रा लागि सुखद क्षण हो’’, लुम्बिनी होटल सङ्घ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले भन्नुभयो, ‘‘विश्वविख्यात पत्रिकाले लुम्बिनीलाई समेट्दा पक्कै पनि यहाँका पर्यटन प्रवर्द्धन हुन्छ । यससँगै पर्यटक आगमन पनि बढ्ने अपेक्षा छ ।’’

‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचयसमेत राखेको छ । त्यसमा लेखिएको छ, ‘हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ, लुम्बिनी । विनाशकारी भूकम्पले नेपाललाई हल्लाएको १० वर्षपछि नयाँ मन्दिर र ध्यान केन्द्रहरु खुलिरहेका छन् ।’

लुम्बिनीलाई अब विशेष महत्त्व दिएर बजेट छुट्याई गुरुयोजना पूरा गर्नमा समेत ध्यान दिनुपर्ने ज्ञवालीले बताउनुभयो ।

पत्रिकाले लुम्बिनीको संक्षिप्त परिचयमा गत नोभेम्बरमा खुलेको ‘थाउजेण्ड टेम्पल’बारे चर्चा गरेको छ । फोटो पनि सोही टेम्पलको भित्ताको पेन्टिङलाई राखिएको छ । ‘थाउजेण्ड टेम्पल’तीनतले तिब्बती शैलीको बिहार हो । यो बिहारभित्र १८ इन्च अग्ला हजार बुद्धका प्रतिमा छन् । साथै त्रिकाल बुद्धका १६ फिट अग्ला तीन प्रतिमा पनि देख्न सकिन्छ ।

न्यूयोर्क टाइम्सले समेटेको विश्वका उत्कृष्ट गन्तव्यस्थलको सूचीको पहिलो नम्बरमा इंग्ल्याण्डको जेन अस्टिन, इक्वेडरको ग्यालापागोस द्वीप, न्यूयोर्क म्युजियम, भारतको आसाम, थाइल्याण्डको ह्वाइट लोटसलगायत छन् ।

सिद्धार्थ होटल सङ्घ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनीको अहिलेको चर्चा र स्थानलाई एक नम्बरमा पुर्‍याउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । ‘‘यसबाट पर्यटन व्यवसायीसँगै सिङ्गो मुलुक खुशी छ । यो खुशीलाई हाम्रो लाभमा परिणत गर्नसक्नुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘यसका लागि लुम्बिनी विकास कोषसहितका निकायले वातावरण बनाउनुपर्छ ।’’

उहाँले अब लुम्बिनी विश्वभरका धेरै मुलुकका अधिक पर्यटक आउने विश्वास गरिएको बताउनुभयो । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनी गरिमा थप उचाइमा पुगेको दाबी गर्नुभयो । (गाेरखापत्रबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *