महिला सहयात्राकाे साधारण सभा सम्पन्न : १७.५ प्रतिशत लाभांश पारित
इन्भेष्टोपेपर । भाद्र १४, २०७७
केन्द्रीय कार्यालय चित्लाङ्ग मकवानपुर रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा २०७७ भाद्र १३ गते १७.५ प्रतिशत लाभांश पारित गर्दै सम्पन्न भएको छ ।
लघुवित्तका अध्यक्ष अमृत चरण श्रेष्ठले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको यस सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२ कराेड १० लाखकाे ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित १७.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै संस्थाको हालको अधिकृत पुँजी २० करोडमा बृद्धि गरी ४० करोड पुर्याउने बिशेष प्रस्ताव समेत पारित गरेको छ । लघुवित्तकाे बोनस पश्चात चुक्ता पुँजी १३ कारोड ३१ लाख हुने छ ।
राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले ३४ वटा शाखा कार्यालयहरु मार्फत ३५,००० भन्दा बढी सदस्यहरुलाई लघु वित्त सेवा तथा ग्राहक सदस्यहरुलाई स्वरोजगारका लागि लघु उद्यम तालिम प्रदान गर्दै महिला उद्ममशिलता विकासमा जोड दिदै आएको छ ।
संस्थाले २०७७ असार सम्म ३३ करोड ४१ लाख निक्षेप परिचालन गर्नुका साथै १ अर्ब ४१ करोड कर्जा परिचालन गरेको छ ।
