मासम ग्रिनउडः एमयूका १७ बर्षे उदियमान खेलाडीकाे चाैतर्फी प्रशंसा

Investopaper, श्रावण ०३, २०७६

लन्डन : आफ्ना किशोर खेलाडी मासन ग्रिनउडको क्षमताबाट म्यानचेस्टर युनाइटेडका खेलाडीमात्र होइन प्रशिक्षक ओले गनर सोल्सकर पनि उत्तिकै प्रभावित छन्।

बुधबार राति खेलिएको लिड्स युनाइटेडविरुद्घको खेलपछि मार्कुस रासफोर्डसँगै प्रशिक्षक सोल्सकरले पनि १७ वर्षीय स्ट्राइकर ग्रिनउडको मुक्त कण्ठले प्रशंसा गरेका छन्।

लिड्स युनाइटेडविरुद्घको खेलमा टोलीका लागि पहिलो गोल नै ग्रिनउडले गरेका थिए। उक्त खेलमा म्यानचेस्टर युनाइटेड ४-० गोलले विजयी भएको थियो। ‘ग्रिनउड फुटबल खेल्नैका लागि जन्मिएका हुन्। फुटबल मैदानमा उनको क्षमता गजबको छ’, २१ वर्षीय रासाफोर्ड भन्छन्। अनुभवको कमीका कारण उनमा आत्मविश्वासको भने केही कमी रहेको रासफोर्ड बताउँछन्।

‘उनले भर्खरै ठूला प्रतियोगिताहरूको अनुभव बटुल्दैछन्, त्यसैले आत्मविश्वासको भने केही कमी देखिन्छ। तर, मैदानमा उनको लगाव र क्षमता बेजोडेको छ’, रासफोर्ड भन्छन्। प्रशिक्षक सोल्सकरले पनि ग्रिनउडको खेलको प्रशंसा गर्दै भविष्यमा उनीबाट क्लबले निकै ठूलो आशा गरेको बताएका छन्।

प्रशिक्षक सोल्सकरले इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो खेलदेखि नै ग्रिनउडलाई मैदानमा उतारिने संकेत पनि दिए। ‘सिजनको सुरुआतदेखि नै ग्रिनउड टोलीमा हुनेछन्’, सोल्सकरले भने। आगामी सिजनको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो पहिलो खेल अगस्ट ११ तारिखमा चेल्सीसँग खेल्दैछ।

ग्रिनउड इङ्ल्यान्डको यू- १८ राष्ट्रिय टोलीका खेलाडी हुन्। ग्रिनउड केवल ६ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडको एकेडेमीमा आबद्ध भएका थिए। उनले म्यानचेस्टर युनाइटेडबाटै फुटबलको कखरा सिकेका हुन्। उनले गत मार्चमा म्यानचेस्टर युनाइटेडको सिनियर टोलीबाट ‘डेब्यु’ गरेका थिए।

— एजेन्सी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *