कविताः भानुभक्तको सम्झनामा !!!

  • ध्रुवराज पाैडेल

हे भानु ! सुन लौ कथा नगरका जस्मा रहन्थेउ तिमि
हिँड्थे साँझ बिहानमा ति रमणी निर्धक्क ली संगिनि
ऐले ता दिनमै लुटिन्छन कठै बेली चमेलिहरु
सुनौलापुरको यो कान्तिपुरमा खै शान्तिका आबरु ?

ताँती मोटरका गनी नसकिने ट्याँ ट्याँ र टुँ टुँ गरि
फाल्छन् बाफ धुवाँ येहि गगनमा युद्धै भए झैं गरि
पैदल हिंड्न झनै कठिन् छ अब ता किच्छन् कि भन्ने पिर
जोडी नेत्र धुलाम्य छन् तर अहो!हेर्नु छ चारैतिर ।

मान्छे सुन्दर छन् चिटिक्क सुकिला हेर्दाखेरिमा खरी
भित्री आँत भने अति कटकटे कालो छ छौँडासरी
जेलैमा तिमिले बिताउनुपर्यो श्रेश्ता नमिल्दा तर
ऐले स्वर्णयुगै छ भ्रष्टपथको जत्ती सकिन्छ गर ।

तिम्रा शालिक ढाल्दछन् दिनदिनै योद्धा बनेका अरे
तिम्रा पुस्तकले समाजभरमा के के छरेका अरे
कोहि छैन सुपात्र प्राज्ञ भनिने संस्कार भो जर्जर
नेपाली दुनियाँ , टियू पनि गया ,बेच्ने भया नम्बर ।

कस्ले खन्छ कुवा ? बनाउँछ र को पाटी र पौवाहरु?
कौडीमा पनि धर्म बिक्दछ यहाँ किन्छन् नि कौवाहरु
गाई छन् जनता कति सरलता नेता कुबेरै भया
भ्रष्टाचार गर्‍या जउन् मनुजले नेतृत्व उन्मै रह्या ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *