इन्डियन आइडलको उत्कृष्ट १० मा पुगिन मेनुका पौडेल

न्भेष्टाेपेपर । माघ ८, २०८०

असाध्यै प्रतिस्पर्धात्मक मानिने भारतीय गायन रियालिटी शो इन्डियन आइडलमा उनी उत्कृष्ट १० मा पर्न सफल भएकी छन। उनले इन्डियन आइडलको मञ्चमा निर्णायक र अतिथिहरूबाट एक पछि अर्को एपिसोडमा प्रशंसा बटुल्दै आएकी थिइन् ।

आशा भोसलेको “कजरा मोहब्बत वाला” र “पान खाए सैयाँ हमारो” बोलका दुई वटा गीत गाए लगत्तै उनलाई तीनै जना निर्णायकहरू कुमार सानु, विशाल ददलानी र श्रेया घोषालले सधैँ जसो ‘स्ट्यान्डिङ ओवेशन’ दिएका थिए।

गीत सकिए लगत्तै घोषालले सधैँ लता मङ्गेशकरका गीत छान्ने मेनुकाले यो एपिसोडका लागि आशा भोसलेको गीत छानेर ‘सप्राइज’ दिएको बताइन्।

कार्यक्रममा घोषाल, ददलानी र कुमार सानुबाट मात्रै होइन गायनमा प्रसिद्ध अनुराधा पौडवाल, साधना सरगम, कविता कृष्णमूर्ति, ऋचा शर्मा जस्ता गायिकाहरू, लता मङ्गेशकर र आशा भोसलेले गाएका कैयौँ गीतमा सङ्गीत भरेका सङ्गीतकार कल्याणजी र गायक नीतिनमुकेश, चलचित्र निर्देशक महेश भट्ट, कलाकार रणवीर कपुर, रश्मिका मन्दाना लगायतबाट प्रशंसा पाएकी छन्।

जन्मजात दृष्टिविहीन मेनुकाको आँखाको उपचार गर्न लगिएको विषय पनि आइतवारको कार्यक्रममा प्रस्तोता हुसेनले उल्लेख गरेका थिए। तर उनको आँखाको अवस्था हेरेका डाक्टरले मेनुकाको आँखाको अप्टिक नर्भले काम नगरेको र त्यही कारण उनले देख्न सक्ने सम्भावना नरहेको बताए।

तर आफूहरूसँग यस्तो खालको उपकरण रहेको जसले गर्दा मेनुकाले धेरै कुराहरू आफैँ गर्न सक्ने बताए। “जस्तै उनी एक्लै हिँड्न, अनुहार पहिचान गर्न, आफ्नो अगाडि को उभिएको छ भनेर थाहा पाउन र पढ्न पनि एकदमै सजिलोसँग सक्छिन्,”कार्यक्रममा प्रसारित भिडिओमा ती डाक्टरले भने।

डाक्टरले यसो भने लगत्तै निर्णायकहरू र कार्यक्रममा सहभागीहरूले खुसी व्यक्त गरेका थिए।घोषालले मेनुकाले त्यो उपकरण कहिले लगाउलिन् र सुन्दर बिहानी देख्लिन् भन्ने आफूले कुरिरहेको बताइन्।

मेनुकाले पनि त्यसको प्रतिक्रियामा धन्यवाद व्यक्त गर्दै आफू निकै उत्साही भएको बताइन्।

आजभन्दा २५ वर्षअघि झापाको हल्दिबारीमा सामान्य परिवारमा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन्। उनका आमाबुवा र दुई बहिनी छन्। सामान्य आर्थिक अवस्थाका कारण उनका बुवा वर्षौअघि कमाइ गर्न मलेशिया गएका थिए। अहिले पनि उतै छन्।

इन्डियन आइडलको एउटा कार्यक्रममा मेनुकाको ठूलो इच्छा आफ्नो बुवालाई घर फर्काउनका लागि आफू सक्षम बन्नु रहेको बताएकी थिइन्। (वीवीसीबाट)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *