शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम हुने मन्त्री श्रेष्ठकाे घाेषणा

न्भेष्टाेपेपर । वैशाख ६, २०८१

काठमाडौँ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षकलाई राजनीतिक दलबाट टाढा राख्न आफू निर्मम भएर लाग्ने बताउनुभयो । देशको भविष्य बोक्ने बालबालिकाको शिक्षा माथि खेलबाड गर्दै शिक्षकहरू राजनीति गरेर हिँड्दा देशैकै शैक्षिक स्तर डामाडोल भएकोले आफूले निर्मम भएर लाग्ने र स्थानीय तह, शिक्षा सेवी, अभिभावक लगायतका सरोकारवाला निकायसँग सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो । 

सबै बालबालिकाहरूलाई विद्यालयमा सहभागी गराउने र गुणस्तरीय शिक्षा दिने कुरा सम्भव बनाउन शिक्षकलाई राजनीतिबाट टाढा राख्नु पहिलो सर्त भएको उहाँको जिकिर छ । मन्त्री श्रेष्ठले विद्यालय तहको शिक्षालाई केन्द्रित गरेर सरकारले शिक्षा क्षेत्रमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने योजना समेत घोषणा गर्नुभयो ।

उहाँले सबै बालबालिकाहरुको विद्यालयमा सहभागिता र गुणस्तरको सुनिश्चितता गर्ने कुरालाई सरकारले मूल नारा बनाएर अघि बढेको र त्यसका लागि आवश्यक सुझाव लिन आफू सहितका शिक्षा मन्त्रालयका कर्मचारीले हरेक विद्यालयका प्रधानाध्यापकसँग फोन संवाद गर्ने कार्यक्रमलाई अघि बढाइएको बताउनु भयो । बालबालिकाहरूले विद्यालय छोड्नुको कारणबारे वडा तहमा, विद्यालय तहमा नै पुगेर बुझेका लागि पनि पालिका र विद्यालयका प्रधानाध्यापकसँगको संवादलाई आफूहरूले जोड दिएको पनि उहाँ स्पष्ट पार्नुभयो ।

बालबालिकालाई विद्यालय फर्काउनु पर्छ, यसका लागि विद्यालयले, प्रअहरुले, शिक्षकहरूले, पालिकाले, प्रदेशले, सङ्घ सरकारले बढी केन्द्रित हुनु जरुरी छ । 

मन्त्री श्रेष्ठद्वारा विद्यालय स्थापना तथा सञ्चालन मापदण्डको मस्यौदामाथि सुझाव माग

मन्त्री श्रेष्ठले विद्यालय स्थापना तथा सञ्चालन मापदण्डको मस्यौदामाथि सुझाव दिन पनि सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराउनु भयो । शिक्षाको गुणस्तर काम गर्न सरकारले सो मापदण्ड बनाएर शिक्षा मन्त्रालयको वेबसाइटमा राखेको उल्लेख गर्दै त्यसमा आवश्यक सुझाव दिन शिक्षक, अभिभावक, विज्ञहरू, स्थानीय तह, प्रदेश सरकार सबैलाई सुझाव दिन उहाँको आग्रह थियो । मन्त्री श्रेष्ठले सङ्घीय विद्यालय शिक्षा ऐन सङ्घीय संसद्को विषयगत समितिमा विचाराधीन अवस्थामा रहेकाले पनि सरकारले विद्यालय तहको शिक्षामा गुणस्तर काम गर्न सम्बन्धित पक्षसँगको छलफललाई केन्द्रित गरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, एकदम महत्त्वपूर्ण म के आह्वान गर्न चाहन्छु भने हामीले विद्यालय स्थापना तथा सञ्चालनको मस्यौदा मापदण्ड वेबसाइटमा राखेका छौँ । यही सिलसिलामा शिक्षकको सरुवाका लागि शिक्षकहरूसँग, प्रअहरुसँग, इकाईका साथीहरूसँग विभिन्न चरणमा बसेर यसलाई कसरी पारदर्शी बनाउने यसलाई कसरी फियर बनाउने काम हुने गरी सरुवाको पनि मापदण्ड बनाउँदै छौँ । 

यसमा म सबै जनाको अनुरोध गर्न चाहन्छु–यसमा सबै जनाले फिडब्याक दिनुहोला । अव यो सङ्घीय विद्यालय ऐन समितिमा छ । त्यो समयावधि भित्र पनि हामीले केही मापदण्ड बनाएर केही सुनिश्चतता गर्न सक्छौँ । जति पालिका, विद्यालयहरूका प्रअहरुसँग र शिक्षकहरूसँग समन्वय गर्नसक्छौं, त्यति नै हामीले गुणस्तर सुधार गर्न सक्छौ । त्यत्ति नै हामीले अभिभावकहरूलाई पनि त्यसको महत्वबारे जानकारी दिन सक्छौं । यसो भन्दा मैले भन्नुपर्ने कुरा के छ भने धेरैभन्दा धेरै पालिकाहरूसँग मैले भेटघाट गरेँ । सामूहिक प्रयासबाट मात्रै हामीले हाम्रा विद्यार्थीहरूको र अन्तत देशको भविष्य निर्धारण गर्छ । त्यस कारण म सम्पूर्णमा हात जोडेर के अनुरोध गर्न चाहन्छु भने गुणस्तरीय शिक्षामा हामी सबै योगदान महत्त्वपूर्ण छ ।’

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन निर्मम हुन्छु

मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रलाई राजनीतिकरणबाट मुक्त गर्नुपर्ने दोहोर्‍याउनु भयो । उहाँले शिक्षामा राजनीतिकरण हुन नदिन आफू निर्मम भएर लागिपर्ने पनि बताउनु भयो । मन्त्री श्रेष्ठले शिक्षकहरूलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन पनि सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘जति पनि यो दलीय राजनीतिकरणको जर्जरमा हामी परेका छौ । सम्पूर्णमा आग्रह छ–शिक्षकहरू, विद्यालय व्यवस्थापनका साथीहरू, अब यो दलीय राजनीतिकरणले ग्रसित हाम्रो शिक्षा क्षेत्रलाई दलीय राजनीतिकरणबाट मुक्त गर्नुपर्छ । यसमा म निर्मम भएर लाग्ने पनि छु । यसमा पहिलेनै यो कानुन बनाउने कुरा पनि होइन । यो त कार्यान्वयनको पाटो हो । त्यसमा म निर्मम भएर लाग्छु पनि । र मैले पहिले पनि आह्वान गरेको थिएँ । र आज पनि भन्छु–दलीय राजनीतिकरणबाट शिक्षा क्षेत्रलाई मुक्त गर्नुपर्यो । शिक्षकहरूले राजनीतिक कार्यक्रममा होइन कि विद्यालयको कक्षा कोठामा, चौरमा आफ्नो विद्यार्थीहरूलाई राम्रो गरेको विद्यार्थीलाई झन् राम्रो गर्न, पाठ्यक्रमभन्दा बाहिरको कुरा सिक्न अथवा जुन विद्यार्थीहरू पछि परेका छन् ।

विद्यालय समय पछि पनि विद्यार्थीहरूलाई राम्रो गर्न ढाडस दिने हो कि ? त्यसका लागि म अनुरोध गर्न चाहन्छु ।’ मन्त्री श्रेष्ठले पछाडि परेका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा लाग्न पनि शिक्षकहरूलाई आग्रह गर्नुभयो । याे समाचार गाेरखापत्रमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *