सामाजिक सुरक्षा कोषमा ३० लाख भन्दा धेरै योगदानकर्ता आबद्ध

इन्भेष्टाेपेपर ।  साउन ५, २०८३

काठमाण्डौ ।  सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब भन्दा धेरै योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको हो । 

सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ बराबर दाबी भुक्तानी गरेको छ । 

यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ उपलब्ध गराएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख छ हजार ५१४, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड चार लाख २५ हजार २१६ र अवकाश दाबीतर्फ १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराएको छ । 

पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ । पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति चासो बढ्दै गएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी शुरु गरेको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *