नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य : अर्थमन्त्री पुन

न्भेष्टाेपेपर । वैशाख १५, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । आज तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा अर्थमन्त्री पुनले नेपाललाई लगानीको गन्तव्यका रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो । 

उहाँले नेपालमा लगानीको अवसर र सम्भावना खोज्न आउनुहुने पाहुनाप्रति आभार व्यक्त गर्नुभयो । सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न कानुनी सुधारका क्षेत्रमा हालै गरिएका प्रयासबारे जानकारी गराउनुका साथै लगानीका लागि तयार भएका परियोजनासहित विभिन्न क्षेत्रका आयोजनाको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको उल्लेख गर्नुभयो ।

“व्यवसायिक वातावरण  सुधार गर्ने र लगानीकर्ताको विश्वास बढाउने उद्देश्यले हामीले विभिन्न नीतिगत सुधार गरेका छौँ । नीतिगत र व्यवसाय सुरु गर्दा लाग्ने प्रक्रियागत झण्झटमा सुधार, सार्वजनिक शासनमा पारदर्शिता र जवाफदेहीता सुनिश्चित गरिएको छ । आगामी दिनमा पनि यस प्रक्रियालाई निरन्तरता दिइनेछ”, उहाँले भन्नुभयो ।

अर्थमन्त्री पुनले सम्मेलनका क्रममा सरकार र लागानीकर्ता,  स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रबीच विभिन्न सम्झौता र समझदारीका साथै परियोजना विकास र व्यवस्थापनसम्बन्धी सम्झौता हुने विश्वास लिइएको बताउनुभयो । 

सम्मेलन नीति निर्माता, लगानीकर्ता, विशेषज्ञ र अन्य सरोकारवालाबीच विचार आदानप्रदान गर्नुका साथै उद्योग र पूर्वाधार विकास जस्ता क्षेत्रमा सहकार्यका लागि सञ्जाल बिस्तार ९नेटवर्किङ० गर्ने अवसरमा रुपान्तरण हुने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो ।

नेपालका आर्थिक सूचकहरू स्थिर र सकारात्मक बन्दै गएको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले नेपालले पछिल्लो समय स्वच्छ ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि र कृषिमा आधारित उद्योगका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभयो । 

उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक लगानी र बजार मात्र पर्याप्त नरहेकाले नेपालले विदेशी लगानी प्रवद्र्धनमा जोड दिएको अर्थमन्त्री पुनको भनाइ छ ।

हाल लगानी गरिरहेका विदेशी लगानीकर्ताले प्राप्त गरेको सफलता र नाफा आर्जन गरेको अवस्थाले पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य रहेको पुष्टि हुने उल्लेख गर्नुहुँदै अर्थमन्त्री पुनले नेपालमा ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई अपिल गर्नुभयो । 

नेपालले औद्योगिक विकास, पूर्वाधार विकास, रोजगारी सिर्जना, निर्यात प्रवद्र्धनका साथै ज्ञान, सीप र प्रविधि हस्तान्तरणका लागि उत्प्रेरकका रूपमा विदेशी लगानीलाई स्वागत गर्ने नीति अख्तियार गरेको अर्थमन्त्री पुनले स्पष्ट पार्नुभयो । 

सरकार निजी क्षेत्रसँग निजी प्रत्यक्ष लगानीका साथै सार्वजनिक–निजी साझेदारीमार्फत सहकार्य गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । 

नेपालका प्रचुर लगानीको सम्भावनालाई उजागर गर्न र दिगो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास अर्थमन्त्री पुनले व्यक्त गर्नुभयो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *