चेनबिनाको साइकल निर्माण: चलाउन सजिलाे, फाेल्ड गरेर राख्न सकिने

Investopaper, श्रावण १६, २०७६ 

चेन नहुँदा पनि साइकल चल्छ र भन्ने कतिपयलाई लाग्छ होला । तर साइक्लिङलाई थप सुविधाजनक बनाउनको लागि यस्तो साइकल बनाइएको छ जसमा चेनको प्रयोग भएकाे छैन । ‘लेटेस्ट लिवर ड्राव सिस्टम’ मा आधारित भएर निर्माण गरिएको यो साइकलमा चेन हुनेछैन, थोरै बल लगाउँदा पनि चल्नेछ ।

अमेरिकाकाे लस एञ्जेल्सका एकजना आविष्कारक रोजर पार्करले यो साइकल बनाएका हुन् । उनले यसको नाम ‘नुबाइक’ राखेका छन् । उनले भनेका छन्, ‘साइक्लिङ गर्दा चेन निस्केर चालकलाई समस्या हुने गर्छ । त्यही भएर यस्तो मोडलको साइकल निर्माण गरिएको हो, जसमा चेन नै छैन ।

’अहिलेसम्म सबै साइकल चेन र बेल्टले चल्दै आएका थिए । तर पार्करले नयाँ तरिका अपनाएका छन् । उनले ‘लिवर ड्राव सिस्टम’को प्रयोग गरेर चेनबिना नै साइकल निर्माण गरेका हुन् । उनले ‘लिवर ड्राव सिस्टम’ चेन र बेल्टभन्दा धेरै राम्रो भएको बताएका छन् । उनका अनुसार यस प्रविधिबाट कम बल लगाउँदा पनि बढी उर्जा पैदा गर्न सकिनेछ । जसले गर्दा कम बलमा नै साइकल एकदमै छिटो कुद्नेछ ।

यसको प्रयोगले घुँडा, पिँडाैला र कुर्कुच्चामा पनि धेरै दबाब र थकान पनि कम हुने उनले बताएका छन् । ‘नुबाइक’लाई कार्बन फाइबरको फ्रेममा बनाइएको छ । यसमा पाइडललाई रियर हबसँगै जोडेर लगाइएको छ ।

पाइडल चलाउनको लागि चालकलाई अब खुट्टा घुमाउनुपर्ने छैन । पाइडललाई तल र माथि धकेलेर चलाउँदा साइकल मज्जाले कुद्नेछ । नुबाइकमा मल्टिपल गेयरको सुविधा पनि रहेको छ । यसको पहिलो मोडेलमा ४ गियर लगाइएका छन् । जसले गर्दा जुनसुकै परिस्थितिमा पनि साइकल चलाउनमा सहयोग मिल्नेछ ।

यो साइकलको थप विशेषता भनेको आवश्यक परेको बेला यसलाई फोल्ड गरेर पनि राख्न मिल्छ । अहिलेसम्म त याे साइकलको एउटा मात्र मोडेलको निर्माण गरिएको छ, जसको तौल १० किलोग्राम छ। तर अब आउने नयाँ मोडेलमा भने ८ किलोसम्म तौल रहने निर्माण पक्षले बताएको छ । यसको मूल्य ३ हजार ८ सय डलर पर्ने अनुमान गरिएको छ ।

  • एजेन्सी
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *