गौतम बुद्ध विमानस्थललाइ “ग्रिन एअरपोर्ट” को अवधारणानुसार विकास गर्न सौर्य ऊर्जा प्रयोगको तयारी
Investopaper, असार १९, २०७६
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ । यसका लागि विमानस्थललाई अनुदान र ऋण उपलब्ध गराएको एसियाली विकास बैङ्क (एडीबी) ले छलफल अगाडि बढाएको छ ।
“हालसम्मको छलफलका आधारमा अब करिब करिब डेढ महिनाभित्रै यो विषय टुङ्गोमा पुग्ने छ”, एसियाली विकास बैङ्कका नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले भन्नुभयो । सोलार प्यानल जडान गरी विमानस्थल परिसरभित्रै कम्तीमा १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने अवधारणाका साथ एडीबीले यस्तो तयारी गरेको हो ।
प्रति मेगावाट लागत १० कराेड मात्रः
एडीबीका आयोजना अधिकृत प्रधानका अनुसार सौर्य ऊर्जामार्फत प्रतिमेगावाट विद्युत् उत्पादन गर्न करिब १० करोड खर्च लाग्छ । विमानस्थललाई १० मेगावाट विद्युत् भने आवश्यक पर्दैन तर विमानस्थलमा उत्पादन भएको विद्युत् नजिकका उद्योगमा समेत आपूर्ति गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
“यसका लागि स्थानीय सरोकारवालासँग पहिलो चरणको छलफल गरिसकिएको छ, केन्द्रीयस्तरमा पनि छलफल जारी छ”, प्रधानले भन्नुभयो । सौर्य ऊर्जा जडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको प्रधानले जानकारी दिनुभयो । भैरहवा विमानस्थल मुलुककै नमुना रहेको र यहाँ सौर्य ऊर्जा जडान उपयुक्त ठानेर नयाँ अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।
बढी उर्जा बिक्रीबाट थप आम्दानीः
सौर्य ऊर्जामार्फत अनुदान गरिए झैँ १० मेगावाट नै विद्युत् उत्पादन भए त्यसको बिक्री वितरणबाट विमानस्थलको आम्दानीसमेत बढ्ने छ । यो अवधारणा अगाडि बढाउन सकिए विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरु गरिने र छ महिनाभित्रै सकिने प्रधानले जानकारी दिनुभयो ।
एडीबीका अधिकारीहरूका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालकै पहिलो “ग्रिन एअरपोर्ट” को अवधारणानुसार विकास गर्ने गरी सौर्य ऊर्जाबाट सञ्चालन गर्ने तयारी गरिएको हो । छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्राष्ट्रिय विमानस्थल पनि सौर्य ऊर्जाबाट सञ्चालित रहेकाले अब त्यसको अवलोकन गरी सौर्य ऊर्जाको प्रयोग यहाँ पनि गरिने प्रधानले बताउनुभयो । यसका लागि आवश्यकपर्ने रकम एडीबीले अनुदानका रूपमा उपलब्ध गराउने छ ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भसँगै विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले दाबी गर्दै आएको छ । विमानस्थल आयोजनाले २०१९ डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । त्यसपछि आवश्यक सबै प्रक्रिया पूरा गरी सन् २०२० भित्रै अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाइएको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार विमानस्थलको अहिले ८० प्रतिशतभन्दा बढी काम सकिएको छ । विमानस्थलको धावन मार्ग, पाँचवटा ठूला जहाज पार्किङ गर्न सकिने एप्रोन निर्माणको काम सम्पन्न भइसकेको छ भने अहिले टर्मिनल भवनको काम अन्तिम चरणमा पुगेको छ ।
कन्ट्रोल टावर निर्माण पनि अन्तिम चरणमा छ । यो विमानस्थल चीनको नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले निर्माण गरिरहेको छ । याे समाचार आजकाे गाेरखापत्र दैनिकमा छ ।
