संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसमा शान्ति पदयात्रा

न्भेष्टाेपेपर । कात्तिक १, २०८०

काठमाडौँ ।   नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस (युएन डे) का अवसरमा पाँच किमी दूरीको ‘शान्ति पदयात्रा’ गरेको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेल मैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेल मैदानमा पुगेर समापन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ भएकामा त्यस दिन यसपटक नेपालमा बडादसैँ पर्व परेकाले आज ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा सैनिक मुख्यालयमा आजै ‘युएन डे’ विशेष कार्यक्रमको आयोजना हुँदैछ ।

नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको सदस्य बनेको थियो । नेपाल त्यसबेलादेखि नै संयुक्त राष्ट्रसङ्घका अधिकांश शान्ति अभियानमा सक्रियरुपमा सहभागी हुँदै आएको छ । राष्ट्रसङ्घको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ । यस अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार छ सय २३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन् । 

नेपाली शान्ति सैनिकको कर्तव्यप्रति निष्ठा र उत्कृष्ट कार्यसम्पादनको राष्ट्रसङ्घलगायतका निकायबाट उच्च प्रशंसा हुँदै आएको छ । शान्तिकार्यमा खटिएका नेपाली सैनिकले जहिले पनि चुनौतीलाई स्वीकार गर्दै कठिन जिम्मेवारी लिँदै आएका छन् । विश्व शान्ति स्थापना कार्यमा संलग्न हुने सिलसिलामा हालसम्म ७२ नेपाली शान्ति सैनिकको वीरगति प्राप्त गरेका छन् भने ६६ जना घाइते भएका छन् । शान्ति सैनिक खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो ठूलो वरीयता भएको राष्ट्र हो ।

हाल विश्वका १३ मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय २६, नेपाल प्रहरीका ४४ र सशस्त्र प्रहरी बल, नेपालका एक सय ९४ गरी छ हजार ६४ शान्ति सैनिक तैनाथ छन् । त्यसमध्ये पाँच सय ८६ महिला शान्ति सैनिक रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । अघिल्लो वर्ष ‘युएन डे’ का अवसरमा कात्तिक ५ गते विशेष कार्यक्रम तथा कात्तिक ६ गते ‘अन्तर्राष्ट्रिय शान्ति र स्थिरताका लागि एकता’ विषयक गोष्ठी आयोजना गरिएको थियो । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *