कविता : दिव्य लोक
— हृदय लेकाली
छन्द – वसन्ततिलका
नेपाल भूमि छ सधैँ सबमा पवित्र
देवत्व शक्ति छ सधैँ नि यहाँ विचित्र
ठूला विशाल मठमन्दिर छन् अनेकौँ
स्वर्गै समान छ अहो छ नि दिव्य लोक।
लाली उषा किरणमा छ हिमाल हाँस्दो
लाली गुराँस भिरबाट छ प्रीति गाँस्दो
फेवा रुपा छ तिलिचो अनि साथ रारा
बग्छन् नदी र झरना गतिसाथ सारा।
डाँफे मुनाल चितुवा कछुवा र हात्ती
गैँडा बँदेल मृग झुण्ड छ मेल जाती
चौरी बथान अनि खच्चरको छ ताँती
नौलो मनोरम छ दृश्य अनेक भाँती।
उच्चो हिमाल छ पहाड यहाँ तराई
गाढा छ मित्रपन छैन कुनै पराई
छन् जाति घेर गतिला बहुतै अनेक
यो देश खातिर हुँदैन कुनै अनेक।
