कविता : फेदीलाई बिर्सन्छ मान्छे

--  कुन्ता शर्मा

शिखरमा रहँदा
शिखरको उँचाइलाई सम्झन्छ
मानिस आफ्नै उँचाइ
आफ्नो तुलनामा
अरू सबै बाउन्ने
र अर्थहीन लाग्छन् उसलाई
अरू सबै अस्तित्वहीन
र नगण्य लाग्न सक्छन् उसलाई
अनि ऊ बिर्सन पुग्छ फेदीलाई ।

शिखरमा हुँदा
वरपर झक्तजनहरूको भीड देखेर
गौरवान्वित हुन सक्छ अभिमानले
बिर्सिएर शिखरकै कारण
अग्लो हुनुको वास्तविकता
अनि बिर्सिएर आगत र विगतलाई
अनुशासनहीनहरूको भीडभन्दा
बिर्सेर एउटा असल साथी
महङ्खवपूर्ण हुने कुरालाई
वास्तवमा शिखरले बिर्साइदिन्छ
मानिसलाई वास्तविक उँचाइ
अनि ऊ बिर्सन पुग्छ
शिखर सधैँ एउटैको नहुने कुरालाई
फेरि पनि फेदीमा फर्कनुपर्ने कुरालाई ।

शिखरमा पुगेपछि
मानिसले भुसुक्क बिर्सन्छ
उसले तय गरेको कठिन यात्रा
उसले खेपेको आँधीबेहरी
उसले स्पर्श गरेका मृत्युका
चिसा हत्केलाहरू
हातेमालो गर्दै हिँडेका
सहृदयी साथीहरू,
आत्मीयजनहरूलाई ।

शिखरमा पुगेपछि
आफ्नो तुलनामा
अरू सबै
निकम्मा लाग्छन् उसलाई
अरू सबै निकृष्ट,
अर्थहीन लाग्छन् उसलाई
मानिस भुसुक्क बिर्सन्छ
आफूले तय गरेको कठिन गन्तव्य
आफूले खेपेका आँधीबेहरीहरू
आफूले स्पर्श गरेका मृत्युका हत्केलाहरू
कठिन यात्रा, सहृदयी साथीहरू
ऊ सबै इतिहास बिर्सन्छ
मूल्य र मान्यता बिर्सन्छ
शिखरमा पुगेपछि
शिखरमा हुनुको अभिमानले
बिर्सन्छ फेरि पनि
फेदीमा फर्कनुपर्ने कुरालाई ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *