ओठ फुटेर समस्या भएकाे छ ? यसरी गर्नुस घरेलु उपचार
इन्भेष्टोपेपर । कार्तिक ४, २०७८
ओठ शरीरको सानो भाग भए पनि यो फुट्यो भने धेरै समस्या पर्छ । केही खाँदा पोल्ने, हाँस्दा दुख्ने र अनुहारको सौन्दर्य बिग्रने हुन्छ । जाडोको समय वा सुख्खा धुलो चल्ने मौसममा सबभन्दा बढी ओठ फुट्छ । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिहरूले कम तेल निकाल्छन् र फुटाइ सुरु हुन्छ ।
कहिले काँही रोगका कारण पनि ओठ फुट्न सक्छ । चिकित्सकका अनुसार जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर त्यसको परिणामस्वरूप ओठ फुट्न सक्छ । कहिले काँही शरीरले प्राकृतिक रुपमा ओठमा तेल उत्पादन गर्ने प्रक्रियामा कमी आएर पनि ओठ फुट्न सक्छ ।
ओठ कडा, फुस्रो, गाढा कालो, चिरा परेको र तीव्र वेदनायुक्त हुनु, ओठबाट रगत निस्कनु, ओठ पाक्नु, पीप निस्कनु, जलन, पीडा एवं चिलाउने भएमा निम्नानुसारको घरेलु उपचार गर्न सकिन्छ ।
घरेलु उपचार :
१. घीउमा शुद्ध मैन तताएर सेक्नाले ओठका रोगहरु ठीक हुन्छन् ।
२. तेल, घीउ, मैन, बोसो आदि पदार्थहरुमा मैन तताएर सेक्नाले ओठ फुटेको ठीक हुन्छ ।
३. शीतल औषधिहरुको लेप लगाउनाले ओठ फुटेको ठीक हुन्छ ।
४. ग्लिसरिनमा कागतीको रस मिलाएर लगाउनाले फुटेको ठिक हुन्छ ।
५. ओठहरुमा चूर्ण, अवलेह (चाटने) आदि औषधिहरु औँलाले लगाउनाले ओठ फुटेको ठिक हुन्छ ।
६. जाडोमा दैनिक सुन्तला र वदाम सेवन गर्नाले पनि ओठ फुट्ने समस्याबाट बँच्न सकिन्छ ।
यसै गरी हात खुट्टाका छाला खस्रो हुनु र फुट्नु पनि शरीरले तैलीय पदार्थ उत्पादन कम गरेका कारणले हुने अवस्थाहरू हुन् । यस कारण शरीरका हावा पर्ने भागमा चिल्लो पदार्थ/तैलीय पदार्थ दली फुट्न नदिन नरम पारेर राख्न सकिन्छ
साभार : ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट
