नयां वैंक खाता खाेल्दा उपहार, शुरूमै बैंकबाट जम्मा हुन्छ सय रुपैयाँ
Investopaper, चैत्र २८, २०७५
यदी तपाइले कुनै पनि वैंकमा खाता खाेल्नु भएकाे छैन भने नयां बर्ष अर्थात २०७६ बैशाख १ गते पछि खाेल्नु वेश हुने छ । नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ हालिदिने भएका छन् ।
सरकारको ‘सबै नेपालीको बैंक खाता’ कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाले प्रतिखाता सय रुपैयाँ खर्च गर्न लागेका हुन् । नयां खाता खाेल्ने ग्राहकलाइ हालिदिएकाे १०० रूपैंया वैंकहरूले सामाजिक सामुदायिक उत्तरदायित्व अन्तर्गत देखाउन पाउने व्यवस्था राष्ट्र वैंकले गरिदिएकाे छ ।
यसका लागि राष्ट्र बैंकले परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थालाई निर्देशन पनि दिइसकेको छ । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार हरेक नयाँ खातामा सय रुपैयाँ जम्मा गरिदिने निर्णय गरेको छ ।
याे सुविधा पाउनकाे लागि नयाँ खाता खोल्दा ग्राहकले यसअघि कुनै बैंक तथा वित्तीय संस्थामा खाता नभएको पुष्टि भने गर्नुपर्नेछ । यसको अर्थ यसअघि बैंक खाता खोलिसकेका ग्राहक यो कार्यक्रममा सहभागी हुन पाउने छैन ।
यो कार्यक्रमअनुसार खुलेका खातामा ग्राहकको पूर्ण विवरणमा लचकता अपनाउनुका साथै सरलिकृत केवाइसि भरेर खाता खाेल्न सकिने छ । यसरी खुलेका खाताबाट वाषिर्क एक लाख रुपैयाँसम्मको मात्र कारोबार गर्न पाइनेछ । कुनै ग्राहकले वार्षिक १ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेमा पूर्ण रूपमा ग्राहक विवरण बुझाउनुपर्ने राष्ट्र बैंकले प्रस्ट्याएको छ ।
