दूधको मूल्य १० रुपैयाँ बढाएर प्रतिलिटर ८६ रुपियाँ सिफारिस

इन्भेष्टोपेपर । पुष २८, २०७८

काठमाडौँ ।  राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाएको छ । कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताउनुभयो ।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताउनुभयो । कति रुपियाँ मूल्य निर्धारण गरेको छ, त्यो उहाँले बताउन चाहनुभएन । मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपियाँ प्रति लिटरममा १० रुपियाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपियाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपियाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपियाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपियाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरिएको छ । त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपियाँ कायम गरिएको छ । किसानबाट खरिद गरिएको कच्चा दूध प्रतिलिटर ५३.५० रुपियाँ र प्रशोधित लागत प्रतिलिटर ३०.५० रुपियाँ गरी प्रतिलिटर ८४ रुपियाँ हुनजान्छ । त्यसमा उद्योगीले २ रुपियाँ मुनाफा लिएर उपभोक्त मूल्य प्रतिलिटर ८६ रुपियाँ कायम गरिएको छ ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैङ्कको व्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि गरेको सिफारिस समितिले जनाएको छ ।

आर्थिक वर्ष २०६७/०६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपियाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपियाँ कायम गरिएको थियो । २०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपियाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपियाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपियाँ र २०७६ भदौ २१ गते ७६ रुपियाँ कायम गरिएको थियो भने अहिले प्रतिलिटर ८६ रुपियाँ सिफारिस गरेको छ । पाँच वर्षको अवधिमा यसपालि नै सबैभन्दा बढी मूल्य वृद्धिको सिफारिस गरिएको छ ।

विगतमा दूधको मूल्य निर्धारण गर्दा कच्चा दूधको मूल्य ४ प्रतिशत चिल्लो र ८ प्रतिशत एसएनएफको आधारमा र उपभोक्ता मूल्य ३ प्रतिशत चिल्लो र ८ प्रतिशत एसएनएफको आधारमा निर्धारण गर्ने अभ्यास रही आएको छ । दूधको गुणस्तर सुधार गर्न ६८ प्रतिशत अल्कोहलले परीक्षण गरी दूध खरिद बिक्री गर्ने गरिएको छ ।

नेपालमा वार्षिक कूल दूध उत्पादन २३ लाख एक हजार मेट्रिकटन पुगेको छ । कुल दूध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट भएको देखिन्छ । गाईले औसतमा प्रतिवेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दूध दिने गरेको देखिन्छ । जुन अन्य मुलुकको तुलनामा उत्पादकत्व अत्यन्तै न्यून हो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *