आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

न्भेष्टाेपेपर । वैशाख २८, २०८१

काठमाण्डाैँ । आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।

महादेव र पार्वतीको विवाह भएको दिनका रुपमा पनि अक्षयतृतीयालाई लिने गरिन्छ । अक्षय भनेको कहिल्यै नाश नहुने भन्ने अर्थ लाग्छ । यस तिथिमा गरेका कर्महरुको फल नाश नभईं दिगो रुपमा प्राप्त हुने भएकाले यस तिथिलाई अक्षय तृतीया भन्ने गरिन्छ । यो युग आरम्भ हुने तिथि पनि हो ।

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । भगवान विष्णुको चरणबाट महादेवको मस्तक हुँदै गङ्गा धरतीमा आएको दिनका रुपमा पनि आजको दिनलाई लिने गरिन्छ ।

आजको दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । ज्योतिषशास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ ।

विवाह, गृहप्रवेश, पदभार ग्रहण, नयाँ सरसामान खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि आजको दिन अति उत्तम हुने विश्वास गरिन्छ । आज पशुपतिनाथसहित भक्तपुरको डोलेश्वर महादेव मन्दिरलगायतका विभिन्न शिवालयमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सबै तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिएको जनाएको छ । मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको छ ।

समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरमा अन्य दिन बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीयागरी वर्षमा तीन दिन भने भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गरिँदैआएको जानकारी दिनुभयो ।  दर्शनार्थीलाई लाइनमा लागेको २० देखि ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *