आज पोल्ट्री दिवस : सन्तुलित र पोषणयुक्त आहार अण्डा
इन्भेष्टोपेपर । पुष १७, २०७८
चितवन । सन्तुलित आहारका लागि अण्डा महत्त्वपूर्ण खाद्यवस्तु हो । यो सस्तो र सर्वसुलभ पाउन सकिन्छ । काखे बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि अण्डा लाभदायी मानिन्छ । जुनसुकै रोगका बिरामीका लागि पनि पोषणमा अण्डा दिने गरिन्छ ।
नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कुपोषणका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउने गर्दछन् भने कतिपय बिकलाङ्ग भएर जीवनयापन गरिरहेका छन् ।
फिजिसियन डा. भोजराज अधिकारी भन्नुहुन्छ, ‘अण्डा पोषणको प्याकेज हो ।’ मानिसलाई आवश्यक पर्ने खानेकुराको प्याकेज नै अण्डा भएको अधिकारी बताउनुहुन्छ । चिल्लोपना, कार्बोहाइटेड कम र प्रोटिन बढी अण्डामा पाइन्छ । उहाँले थप्नुभयो, ‘शरीरको वृद्धि विकास बढी हुनुपर्यो, कार्बोहाइटेड र चिल्लो कम हुनुपर्यो ।’
अहिले नसर्ने रोग मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्राेल सबैको कारण धेरै कार्बोहाइडेट र चिल्लोपना भएको उहाँको भनाइ छ ।
यी दुईवटा कुरा कम हुन र प्रोटिन बढाउने कुरा अण्डा र कुखुराको मासुमा पाइने अधिकारी बताउनुहुन्छ । ६० ग्रामको अण्डामा आठ ग्राम प्रोटिन पाइने भन्दै उहाँले भन्नुभयो, ‘दैनिक दुई वटा अण्डा खायो भने तीन भागको एक भाग उच्च गुणस्तरको प्रोटिन पाइन्छ ।’ यसले मानिसको शरीरमा आवश्यक प्रोटिन पुर्याउन सहयोग पुग्छ ।
ज्वरो आउँदा, गर्भवती हुँदा अण्डाको उपभोग गर्न हुने भन्दै उहाँले अण्डाको पहेँलो भाग केही मात्रामा खान हुने उहाँको तर्क छ । मानव शरीरलाई दैनिक ३०० मिलिग्राम कोलस्टोर चाहिने भन्दै उहाँले एउटा अण्डामा २०० मिलिग्राम कोलस्टोर हुने बताउनुभयो ।
मस्तिष्क र मुटुलाई अण्डाले राम्रो गर्दछ । उहाँले भन्नुभयो, ‘हृदयघात हुनबाट पनि यसले रोक्न सहयोग पुर्याउँछ ।’ अण्डाको पहेँलो भागमा भिटामिन तथा खनिज हुन्छ भने सेतो भागमा प्रोटिन हुन्छ । मानिसलाई आवश्यक प्रायजसाे पोषणतत्व यसबाट प्राप्त गर्न सकिने अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा बिरामीका लागि खानेकुरामा पोषणको सन्तुलन मिलाउने गरिन्छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पोषण हेर्दै आउनुभएकी खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठ धेरैजसाे बिरामीलाई अण्डा दिइने गरेको बताउनुहुन्छ ।
यो राम्रो खालको प्रोटिन भएको भन्दै उहाँले घाउ निको पार्न, मांशपेसी बलियो बनाउन, रोग प्रतिरोधात्मक क्षमता बढाउन, मस्तिष्क एवं स्मरण शक्ति बढाउन, शल्यक्रिया गरेका घाउ छिटो निको पार्न, मानिसको तौल बढाउन, उचाइ बढाउन अण्डा उपयोगी हुने बताउनुभयो । अस्पतालका सामान्य बिरामी मात्र नभएर जटिल भइ नाकबाट खाना खुवाउने बिरामीलाई दैनिक अण्डा खुवाउने गरेको उहाँले बताउनुभयो ।
प्रोटिन कम भएका बिरामीलाई दैनिक तीन/चार वटासम्म अण्डाको सेतो भाग खुवाउने गरिन्छ । कोही बिरामीको उच्च रक्तचाप र कोल्डस्टोर बढी भएमा पहेँलो भाग नखान भनिएको श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सरकारले आत्मनिर्भर रहेको पोल्ट्री व्यवसायलाई प्रवर्द्धन गर्न आफ्नो ठाउँबाट विभिन्न गतिविधि गरिरहेको छ । वाग्मती प्रदेशको कृषि, पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरण पाण्डे अण्डा पौष्टिकतत्वले भरिपूर्ण रहेको बताउनुहुन्छ ।
भिटामिन, मिनिरल्स र प्रोटिन पाइने अण्डाको प्रयोग बालबालिकादेखि वृद्धवृद्धासम्मका लागि उपयोगी हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यो सस्तो प्रोटिन हो ।’ अण्डाको खपत बढाउनका लागि मन्त्रालयले अभियान सुरु गरेको छ । तीन वर्षमा अण्डा खपत दोब्बर बनाउने मन्त्रालयको योजना रहेको छ ।
अण्डाको महत्त्वको बारेमा आमनागरिकलाई जानकारी गराउने, सरकारी निकायमा खानाको तालिकामा अनिवार्य अण्डा राख्ने, बच्चाको खाजामा अण्डा प्रयोग गर्ने, अण्डा खपतका लागि फुड फेष्टिवलमा जोड दिनेजस्ता कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । यससँगै पोल्ट्रीजन्य पदार्थ उत्पादन बढाउन मन्त्रालयले प्रदेश पोल्ट्री विकास बोर्ड गठन गरेर लागत मूल्य तोक्ने र बजार सुनिश्चित गर्ने र गुणस्तरीय दाना भए नभएको परीक्षण गर्नेजस्ता योजना छ ।
पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्ट नेपाल २२ वर्ष अघिदेखि पोल्ट्रीजन्य उत्पादनमा आत्मनिर्भर भएको भए पनि सरकारी तवरबाट सहयोग प्राप्त हुन नसकेको गुनासो गर्नुहुन्छ । सरकारको नीति स्पष्ट नहुँदा निजी क्षेत्र प्रभावित बनेको उहाँ बताउनुहुन्छ । सरकारले पोल्ट्री विकास समिति र निर्देशक समिति गठन गरेर पनि सक्रिय नभएको उहाँको दुखेसो छ । उहाँले भन्नुभयो, ‘सरकारी नीति नियम मान्न निजी क्षेत्र तयार छ तर सरकारी निकाय निष्क्रिय छ ।’
क्वरेण्टीन ऐन लागू भए पनि यसमा रहेका कमीकमजोरी संशोधनका लागि पाँच वर्षअघि मस्यौदा बनेर पनि थन्किएर बसेको विष्ट बताउनुहुन्छ । मानव शरीरका लागि अत्यावश्यक पौष्टिकतत्व पोल्ट्रीजन्य पदार्थमा प्राप्त हुने भन्दै उहाँले यसको उचित जानकारी आमनागरिकलाई दिन नसकिएको बताउनुभयो।
नेपालमा तीन वर्षयता पोल्ट्रीमा थप लगानी कम भएको र भएका उद्योग समस्यामा रहेको उहाँको तर्क छ । नेपालमा पोल्ट्री क्षेत्रमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको उहाँ बताउनुहुन्छ ।
नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसी अण्डाको महत्त्वको बारेमा आमनागरिकलाई जानकारी गराउनुपर्ने बताउनुहुन्छ । नेपालमा अहिले दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गर्दछ ।
पाँच हजार हाराहारी फार्ममा लेयर्स कुखुरा पालिएका छन् जसमा ३० हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाएको तथ्याङ्क छ । केसीले भन्नुभयो, ‘प्रत्यक्ष, अप्रत्यक्ष सबै जोड्दा सवा लाखभन्दा बढीले यहाँ रोजगारी पाएका छन् ।’
कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने कुखुराका लागि आवश्यक पर्ने कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा अण्डा, मासुको लागत मूल्य बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘सरकारले मकै र भटमासमा लिने कृषि शुल्क बढी लिँदा कृषक मर्कामा परेका छन् ।’
भन्सार शुल्क, अवैध चोरी पैठारी, अव्यवस्थित क्वरेण्टीन अहिलेको प्रमुख समस्या रहेको लामिछानेको भनाइ छ ।
नेपालमा सबैभन्दा धेरै अण्डा उत्पादन र सङ्कलन गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेल अण्डाको महत्त्वको बारेमा सरकार र निजी क्षेत्रले सहकार्य गरेर आमनागरिकसम्म सन्देश पुर्याउनुपर्ने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘अण्डाको महत्त्वको बारेमा आमनागरिकलाई बुझाउन सकिएमा यसको खपत निकै बढ्छ ।’ आफ्नो समूहले अण्डा उत्पादन बढाएर उपभोक्ताको घरआँगनमा पुर्याउने गरी काम गरिरहेको भन्दै उहाँले उत्पादनसँगै बजारीकरणमा सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो ।
आज पोल्ट्री दिवस मनाउँदै गर्दा सचेतना जगाउने उद्देश्यले तीन दिनदेखि विभिन्न कार्यक्रम गरिँदै आएको छ । (रासस)
