राष्ट्रिय महिला लिग १५ माघबाट शुरू हुन्छ – एन्फा
इन्भेष्टोपेपर । पुष १७, २०७८
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलाे राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराउनु भयाे।
यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच लिग हुने खड्काले बताउनुभयाे।
लिगमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र यसपटक छनोट भएका धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिका छन् ।
गत जेठमा सम्मन्न लिगमा एन्फाले सहभागी टोलीलाई चार विदेशी खेलाडी खेलाउने पाउने नियम बनाएको थियो । फागुनमा समापन भएको लिगमा एपीएफले १० अंकको अग्रतासहित उपाधि कब्जा गरेको थियो ।
