साप्ताहिक कृषि कर्म तथा माैसमी सारांश

इन्भेष्टोपेपर । पाैष ९, २०७८

नेपाल कृषि प्रधान देश, कृषिकाे उन्नयन बिना देश र देशबासीकाे भलाे हुन सक्दैन । अझै पनि हामी कृषिमा नयाँ प्रविधिकाे प्रयाग गरेर समुिचत लाभ लिन सकिरहेका छैनाै । समस्त कृषकसामु न त मनग्गे सेवा सुविधा पुगेकाे छ न त लगानी ।

कृषि कर्ममा अग्रिम जानकारी भयाे भने मात्र सहि समयमा सहि निर्णय गर्न सकिन्छ र जाेखिम न्यनिकरण हुन्छ । समस्त कृषककाे हितकाे लागि कृषि विभागद्वारा नियमित प्रकाशन गरिने कृषि सल्लाह बुलेटिनलाइ साभार प्रकाशित गरिएकाे छ । (अवधि: ९-१५ पाैष, २०७८)

मौसमी सारांश:

• गत साता देशभर बर्षा भएको छैन। प्रदेश नं-१ को अधिकांश तराईका केन्द्रहरु लगायत प्रदेश नं-२, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केहि केन्द्रहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका धेरै जसो स्थानहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम शुन्य डि. से. मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला विमानस्थल केन्द्रमा सबैभन्दा कम ६.२ डि.से. तापक्रम मापन गरिएको छ।• देशको उच्च पहाडी तथा हिमाली भू-भागमा साताको शुरुमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानमा हल्का हिमपातको संभावना छ भने साताको मध्य तथा अन्त्यमा सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम र थोरै स्थानहरुमा भारी हिमपातको संभावना छ।• देशको पहाडी भू-भागमा साताको शुरुमा आंशिक देखि सामान्य बदली रही प्रदेश नं-१ तथा बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ भने साताको मध्य तथा अन्त्यमा सामान्य देखि पूर्णतया बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।• देशको तराईका भू-भागमा साताको मध्य तथा अन्त्यतिर सामान्य देखि पूर्णतया बदली; साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ।• यो साता देशका अधिकांश भू-भागहरुमा अधिकतम तापक्रम तथा न्यूनतम तापक्रम घट्ने संभावना छ।

कृषि सारांश

• साताको मध्य तथा अन्त्यमा सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम र थोरै स्थानहरुमा भारी हिमपातको संभावना रहेकोले हिँउ संकलन गरी सुख्खा समयमा पानीको रुपमा प्रयोग गर्नुहोस्।• गहुँबालीमा झारपात व्यवस्थापनको लागि गहुँ रोपेको १-५ दिनभित्र पेन्डीमिथालिन ३०% ई.सी., १५० मिलिलिटर प्रति रोपनीको लागि २५ लिटर पानीमा वा १०० मिलिलिटर प्रति कठ्ठाको लागि १७ लिटर पानीमा माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।• गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरी पहिलो सिँचाई पश्चात १.३ के.जी. युरिया प्रति कठ्ठा वा २ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।• तोरीबाली समूहमा लाग्ने अल्टरनेरिया डढुवा रोगको प्रकोप कम गर्न मेन्कोजेवयुक्त विषादी-डाइथेन एम-४५ दुई ग्राम प्रति के.जी. बीउका दरले उपचार गरि बीउ छर्नुहोस्।• तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखि लाही लागेको ठाँउमा भिज्ने गरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्। प्रकोप ज्यादा भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।• पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।• सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेका फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै, वगैँचाको सरसफाई गर्नुहोस्।• आगामी साताको मौसम आलु तथा गोलभेँडाको पछौटे डढुवा रोगको लागि अनुकूल रहेकोले नियमित अनुगमन गर्नुहोस्।• रेड क्रियोल जातको प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै, बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।• काउली समूहको तरकारी बालीहरुमा बन्दाको पुतलीले पातको तल्लो भागमा पारेका फुल र लार्भाहरुलाई जम्मा पारी नष्ट गर्नुहोस्। कीराको प्रकोप बढी भएमा स्पिनोस्याड ४५% एस.सी. अथवा क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ इ.सि., ०.३ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख छर्नुहोस्।• गाई, भैँसीलाई शारीरिक तौलको २.५-३% सुख्खा पदार्थ आवश्यक पर्ने हुदाँ दुई तिहाई घाँसपातबाट र एक तिहाई दानाबाट पुरा गर्नुहोस्। प्रति लिटर दुध उत्पादन क्षमता अनुसार ४००-५०० ग्राम सन्तुलित दाना दिनुहोस्।• कुखुराका चल्लाहरुलाई ३ दिन र ७ दिनको उमेरमा रानीखेत रोग विरुद्ध एन.डी.आई-२ (ND-I2) खोप प्रति चल्ला १ थोपाका दरले आँखामा हाल्नुहोस्।• साताका अधिकांश दिनहरुमा आंशिक देखि सामान्य बदलीको संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस् साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।• हरेक ३०-३५ दिनमा जै/वर्सिम घाँसमा २.१ के.जी. प्रति कठ्ठाका दरले सिंचाई गरि युरिया टपड्रेस गर्नुहोस्। साथै प्रत्येक कटाई पश्चात पुन: युरिया टपड्रेस गर्नुहोस्।• कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *