रसुवागढी नाकाबाट पहिलो पटक भित्रियो जुम क्रेन

इन्भेष्टोपेपर । श्रावण ०९, २०७

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट विकास निर्माणमा प्रयोग हुने ठूलोखाले जुम क्रेन पहिलोपटक आयात भएको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ र २ एवं उत्तरगया गाउँपालिका–१ को हाकु, गोगने, मैलुङको आधार इलाकामा निर्माण चरणमा अगाडि बढेको २१६ मेगावाट माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामार्फत उक्त जुम क्रेन आयात भएको हो ।     
     
रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार नयाँ आर्थिक वर्ष २०७८/ ७९ को शुभारम्भमा विकास निर्माण कार्यमा प्रयोग हुने दुई ओटा ठूलो क्रेन आयात भएको हो ।     
     
भन्सार हातामा प्रवेश भएका दुई ओटा मेसिनमध्ये एउटा आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको र एउटा भन्सार हाताबाट लाने तयारी भइरहेको छ । चिनियाँ मोडेलको उक्त मेसिन प्रतिओटा ९० हजार अमेरिकी डलर बराबर हुन आउने रकम भन्सार मूल्य कायम भएको सूचना अधिकारी चौधरीले बताउनुभयाे ।     
     
रसुवागढी नाका सञ्चालन भएयता यस्ताखाले मेसिन सीमाक्षेत्रको लेहेन्दे खोला मितेरी पुलबाट पहिलो पटक नेपाल भित्रिएको भन्सार कर्मचारीले बताएका छन् ।     
     
यस्तै धेरै वर्ष प्रक्रियागत रूपमै अलमल परिरहेको रसुवाको सबैभन्दा ठूलो २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरणको आयात एवं प्राविधिक तथा कामदार बस्ने पूर्वाधार निर्माणले विद्युत् उत्पादनका लागि छिट्टै सुरुङ मार्गको काम अगाडि बढ्नेमा आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् ।     
     
 ५० अर्ब रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुने उक्त आयोजनामा कोरियाको लगानी रहेको र सुरुङलगायत पूर्वाधार निर्माणका लागि चाइना पावर नामक चिनियाँ कम्पनीले जिम्मा पाएको आयोजनाका प्राविधिकले बताएका छन् ।     
     
निर्माण कार्यका लागि आवश्यक पर्ने उपकरण तथा औजार चीनबाट आयात भइरहेको र धुञ्चे पुछारको ड्याम साइट, हाकुबेंसी, मैलुङ दोभानका तीन स्थानमा आवासका साथै काम गर्ने स्थलमा जाने सहजताका लागि मैलुङ नजिक त्रिशूली नदीमा बेली ब्रिज निर्माण गर्ने काम अगाडि बढिरहेको बताइएको छ ।     
     
बाहिरी सतहको पूर्वाधार निर्माण सम्पन्न हुन लागेकाले आगामी अक्टोबरको पहिलो हप्ताबाट सुरुङको काम अगाडि बढाउने कार्य तालिका रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले बताएको छ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *