७ वर्षकी बालिकाले ८० किलो ताैल उठाएर विश्व कीर्तिमान
इन्भेष्टाेपेपर । मङ्सिर २९, २०७७
क्यानडाकी एक ७ वर्षको बालिकाले ८० किलाे ताैल उठाइन भनेर पत्याउनै गाह्राे तर नपत्याइ कहाँ सुख पाइएला ? रोरी भेन उल्फत नामकी ती बालिका संसारकै सबैभन्दा बलवान बालिका हुन् ।
रोरीले ८० किलो तौल उठाएर विश्व कीर्तिमान कायम गरेकी छिन् । ७ वर्षको उमेरमा यतिधेरै तौल उठाउन अहिलेसम्म कसैले सकेको थिएन ।
रोरीलाई भारत्तोलनमा ८० किलोको डेडलिफ्ट र ६१ किलोको स्क्वाड गर्नु साँच्चीकै बच्चाको खेल जस्तो हो । साथै उनले स्न्याचमा ३२ र क्लिन एण्ड जर्कमा ४२ किलोग्राम तौल सजिलैसँग उठाइदिन्छिन् ।
यी बालिकाले इतिहासकै सबैभन्दा कम उमेरमा भारत्तोलनको अमेरिकी यूथ च्याम्पियनको समेत उपाधि जितेकी छिन् ।
४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तोलनको तालिम लिन सुरु गरेकी थिइन् । यो २ वर्षमै उनले धेरैले कल्पना नै नगरेको कीर्तिमान कायम गरेकी छन् ।
उनले हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमुनिको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्याम्पियनको उपाधि जितिन् ।
रोरी भन्छिन्, ‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ।’
रोरीका बुवा क्याभनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गर्दछन् । हाल ३ कक्षामा पढ्ने रोरी क्यानडाको राजधानी ओटावामा आफ्ना बुवाआमा तथा भाइसँग बस्छिन् । उनी हप्तामा ९ घण्टा तालिम गर्दछिन् ।
खेल जगतमा मात्र होइन सोसल मिडियामा समेत सेलिब्रेटी बनिसकेकी रोरीका इन्स्टाग्राममा डेढ लाखभन्दा धेरै फलोअर्स छन् ।
— एजेन्सीकाे सहयाेगमा
